काठमाडौँ – सोमबार बिहान अफगानिस्तानको राजधानी काबुलमा भएको आतङ्कवादी आक्रमणमा परी १४ जनाको मृत्यु भयो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले १४ जना नै नेपाली नागरिक रहेको बताएका थिए तर सोमबार अपरान्ह नेपालको परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पत्रकार सम्मेलन आयोजना गरेर घटनामा १२ जना नेपालीको मृत्यु भएको बतायो । आखिर उक्त हमलामा मृत्यु भएका मध्ये थप दुईजना को थिए भन्ने सोमबार रातिमात्रै यसको रहस्य खुलेको छ । १२ नेपालीबाहेक अन्य दुई मृतकहरु भारतीय नागरिक रहेको क्यानेडिन दूतावासले स्पष्ट पारेको छ ।
अफगानिस्तानका लागि क्यानेडियाली राजदूत डेबोरा ए लियोन्सले सोमबार राति जारी गरेको विज्ञप्तिमा १२ नेपाली र दुई भारतीयको मृत्यु भएको बताउनुभएको हो । उँहाका अनुसार ६ जना नेपालीसहित केही व्यक्तिहरू घाइते रहेको र उनीहरूको उपचार भइरहेको छ । भारतीय विदेश मन्त्रालयले पनि काबुलमा मारिएका दुई जना भारतीय नागरिक रहेको पुष्टि गरेको छ ।
मृत्यु हुने नेपाली मूलका भारतीय नागरिक देहरादूनका गणेश थापा र गोविन्द सिंह रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षामा सर्वे इन्टरनेसनल मार्फत सुरक्षा गार्डका रूपमा खटिएका नेपालीहरू मिनीबस चढेर बिहान ५ः४० मा काबुलतर्फ जाँदै गर्दा आतङ्कवादी आक्रमणको सिकार भएका थिए ।