सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024
  • राजेन्द्र मानन्धर
दोलखा – सहरका युवायुवती भ्यालेन्टाइनको ‘गिफ्ट’ किन्न पसल धाइरहेका बेला दोलखाको सुन्द्रावती गाउँका ६५ वर्षीय जुद्धबहादुर थामीलाई अर्कै चटारो थियो । खुट्टा बंग्याउँदै नातिनातिनाको जन्ती जानुपर्ने बेला उनी आफैं बेहुलो बनेर जन्तीसहित हानिए ५३ वर्षकी मसली बसेको घरतिर । आइतबार साँझ धामी र पुरोहित साक्षी राखेर मसलीले पनि पानीको घेरोले छेक्दै माला लगाइदिइन् उनलाई ।
भोलिपल्ट उनी उसरी नै गए ४७ वर्षकी अनुमायाको घर । अनुमायाले पनि जुद्धबहादुरलाई त्यसै गरिन् । जुद्धबहादुरले एक दिनको फरकमा दुइटीलाई सिन्दूर र पोते लगाइदिए । अनि, पत्नी स्विकारे ।
यो नाटक होइन, वास्तविक हो । संस्कार धान्न जुद्धबहादुरले बुढ्यौलीमा दुइटीसँग लगनगाँठो कस्नुपरेको हो । दुइटीलाई विधिवत् भित्र्याउन उनले दुई फरक-फरक घरमा दुलाहा बनेर जानुपर्‍यो । दुवै ठाउँमा निम्तालुलाई बिहे भोज खुवाउनुपर्‍यो । धामी बकाउनुपर्‍यो । पुरोहित बोलाएर स्वयम्बर गर्नुपर्‍यो । बाजा बजाएर तामझाम देखाउनुपर्‍यो । झन्डै डेढ लाख खर्च गर्नुपर्‍यो ।
दुवैतर्फका माइतीपट्टबिाट ल्याएको कपडा, सगुन ग्रहण गर्दै भ्याइनभ्याई दुलाहा जुद्धबहादुरले भने, ‘रहरले भन्दा पनि संस्कार धान्न रीतअनुसार यो उमेरमा बिहे गर्दैछु ।’
यसअघि बिहे नगरे पनि जुद्धबहादुरले मसलीसँग ३२ र अनुमायासँग २० वर्ष सँगै बिताइसकेका छन् । चोरी (भगाएर) बिहे गर्नेले सकेको समयमा विधिपूर्वक मिल्सिङ -बूढो बिहे) गर्नुपर्ने परम्परा थामी संस्कारमा छ । बाबुआमाले विधिपूर्वक बिहे नगरेसम्म छोरानातिले समेत बिहे गर्नु हुँदैन ।
मृत्युपछि पनि खोट रहने हुनाले बुढेसकालमा जुद्धले दुइटा बिहेको व्ययभार बेहोर्नुपरेको हो । दुवैसँग एउटै जग्गेमा, एउटै खर्चमा बिहे गर्ने प्रयत्न त गरे पनि । तर, पत्नीहरूले जिद्दी गरेपछि फरक-फरक गरेर बिहेको रीत सक्नुपरेको हो । उनले दुइटीमध्ये मसलीलाई सुन्द्रावती-७ र अनुमायालाई वडा नम्बर-९ मा घर बनाई राखेका छन् । उनीहरू बसेकै घरमा उनी छुट्टाछुट्टै बेहुलो भएर गई बिहे गरेका
हुन् । ‘हाम्रो संस्कारमा सिन्दूरपोतेको झर्को नफुकाई नहुने रहेछ,’ पाहुना खुवाउन भान्साको काममा सघाइरहेका युवक सुन्दर थामीले भने ।
बूढो भनेर के गर्नु ! तामझाम नयाँ बिहेको भन्दा कम थिएन । मसलीका घरमा पुगेपछि गर्दो बोकेर आउने माइती मावल पक्षलाई ढोगभेट गर्दै जुद्धबहादुर जग्गेमा बसे । धामीले ढ्याङ्ग्रो ठोक्दै ‘देवता’ पुजेपछि पुरोहितले ‘बत्तीस दन्त फोडी…..एक दिएँ, दुई दिएँ’ भनेर माइती पक्षका तर्फबाट शपथ खुवाउन लगाएपछि स्वयम्बर गरियो । यो प्रक्रिया भोलिपल्ट बिहान अनुमायाको बिहेमा पनि दोहोरियो ।
भाले र अन्य मासुको परिकार, रोटी, अचार, तरकारी र जाँडरक्सी खाँदै रमाइलो गरिरहेका ६७ वर्षका डम्बरबहादुर थामीले भने, ‘यो त मिल्सिङ (बूढो बिहे) भएर पो यस्तो भयो, नत्र झनै मज्जा हुन्थ्यो ।’
गरिबीको चपेटामा परेका जुद्धले आफ्नो भन्ने आठ मानाको मकैको बिउ जाने बारी र चार पाथी धानको बिउ लाग्ने खेत आफूले नराखी दुइटीलाई आधा-आधा दिएका छन् । सुरुमा अर्की पनि थिइन् । सन्तान नभएपछि अर्कैसँग गइन् । अनि, मसली ल्याएँ । उनीबाट सन्तान नभएपछि अनुमाया भित्र्याएँ ।
‘तीनवटी ल्याउँदा पनि सन्तान नभएपछि आफ्नै कारण रहेछ भनेर चित्त बुझाएँ,’ जुद्धले भने । बिहेमा भोज खान आएका धनसिंह थामी भन्छन्, ‘यिनकी जेठी पनि साथै भएको भए लगातार तीनवटीसँग बिहे गर्नुपर्ने थियो ।’
संस्कारअनुसार विधिपूर्वक बिहे नगरी दम्पतीमध्ये कुनै एकको मृत्यु भए पुरुषले पत्नीका रूपमा हँसिया र महिलाले पतिका रूपमा खुकुरी वा केराको थामसँग बिहे गर्नुपर्छ । त्यस्तो बिहे पनि यसरी नै बाजा बजाएर, पाहुना बोलाएर, भोज खाएर रमाइलोसँग गरिन्छ ।

तपाईको प्रतिक्रिया