नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापित भएको करिब ६ दशक पुग्न लागेको छ । दुईदेशको बीचको सम्बन्ध यस अघिदेखि नै अत्यन्त सौहाद्रपूर्ण रहंदै आएको छ । जनस्तरको सम्बन्ध पनि निकै सुमधुर छ । नेपालीले जापान र जापानीलाई र जापानी नागरिकले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण अत्यन्त राम्रो छ । जापान नेपालको विकासको निम्ति एक प्रमुख साझेदार अर्थात दातृ राष्ट्र हो । यति हुंदा हुंदै पनि लामो समयसम्म दुई देशबीचको सम्बन्ध सामान्य रुपमा मात्रै अघि बढिरहेको प्रतीत भईरहेको थियो ।
जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलक भएका कारण विश्व सम्बन्ध र व्यापारका हिसाबमा उसको प्राथमिकतामा नेपाल पर्न सक्ने कुरै भएन । त्यसकारण उसको चासोले नभई नेपालको पहलले मात्रै सम्बन्धलाई विशेष रुपमा अघि बढाउनु पर्ने हुन्छ । तर यसतर्फलामो समयदेखि द्वन्द्वमा फसेको नेपालले त्यस अघिदेखि नै खासै सम्बन्धलाई चुस्त राख्न अपेक्षित रुपमा काम गर्न नसकेको अनुभूति भैरहेको थियो । त्यसैकारण दुई देशबीच उच्चस्तरीय औपचारिक भ्रमणहरु सम्म पनि हुन सकिरहेका छैनन् ।
तर केही समय यता दुई देशबीचको सम्बन्धमा सकारात्मक गतिविधि बढ्न थालेको अनुभूति हुन थालेको छ । जापानस्थित नेपाली दूतावास र नेपाल स्थित जापानी दूतावासको सकारात्मक सक्रियता यस निम्ति महत्वपूर्ण हुने नै भयो । फलस्वरुप गत वर्ष जापानी परराष्ट्र मन्त्रीले नेपालको भ्रमण गरे पछि नेपालका मन्त्रीस्तरीय भ्रमणहरु प्रशस्तै भएका छन् । त्यस अलावा प्रशासनिक तहका उच्च पदाधिकारीहरु देखि मिडिया र अन्य तहका भ्रमणहरुलाई समेत जापानले प्राथमिकताका साथ व्यवस्थापन गर्दै आएको देखिन्छ । त्यसैको निरन्तरता स्वरुप हालै मात्र नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले जापानको औपचारिक भ्रमण गर्नुभएको छ । त्यस भ्रमणलाई जापान सरकारले यथोचित महत्व दिएर दुई देशबीचको सम्बन्धलाई अरु उचाई दिन खोजेको अभिव्यक्ति दिएको छ । मन्त्रीस्तरिय वार्तामा के के कुराहरु उठाइए र दुई देशले एक अर्काको चाहनालाई बुझदै आगामी दिनमा के कस्ता गतिविधिहरु चालिने हुन् ति त हेर्न बांकी नै छ । तर पनि दशक भन्दा लामो समयदेखि हुन नसकेको परराष्ट्र मन्त्री स्तरको औपचारिक भ्रमण भएको छ र यसले सरकार प्रमुख तह सम्मको भ्रमणको मार्ग प्रशस्त गरेको बुझ्न सकिन्छ ।
जापानका प्रधानमन्त्री सिन्जो आबेले आफ़्नो सक्रियता र उपस्थिति जापानमा मात्रै नभएर अन्तरराष्ट्रिय मञ्चहरु हुंदै विश्वका ठूला साना देशहरुसंगको सम्बन्धमा पनि देखाइरहेका छन् । यो बेला नेपालले पनि आवश्यक पहल गरेर त्यो तहको भ्रमण गराउन सक्ने हो भने समृद्धिको मार्गमा अगाडि बढ्नुको कुनै विकल्प नभएको नेपालका लागि अत्यन्तै महत्वपूर्ण हुने छ । यस किसिमका उच्चस्तरका भ्रमणले जनस्तरमा पनि राम्रो छाप छोड्ने र पर्यटन प्रबर्धनमा समेत योगदान पुग्ने हुन्छ ।
पूर्वाधारको विकासमा जापानबाट सिक्नैपर्ने कुराहरु नेपाल जस्तो मुलुकका लागि अनगिन्ति छन् । देशभित्र उपयुक्त वातावरण निर्माण गर्न सक्ने हो भने ठूला ठूला व्यवसायिक कम्पनीहरुलाई नेपाल भित्र्याएर विकासका साझेदार बनाउन सकिन्छ । मन्त्री पाण्डेको भ्रमणको समयमा जापानका व्यवसायिक कम्पनीहरुस“गको बैठकले त्यही कुरालाई संकेत गरेको छ । जापानले भारतसंगको सम्बन्धलाई निकै प्राथमिकतामा राखिरहेको अवस्था र सरकारी सहयोगका अलावा व्यवसायिक लगानी उल्लेखनीय रुपमा बढिरहेका बेला छिमेकी नेपालले उनीहरुलाई आकर्षण गर्न सहज पनि छ ।
जापानले नेपालीहरुलाई उसको देशमा भित्र्याउन विगतमा भन्दा सहज वातावरण उपलब्ध गर्राईरहेको कुरा तथ्याङ्कले देखाइरहेको छ । जापानमा कुक लगायत विशेष काम मात्रै नभएर नेपालीहरुलाई प्रशिक्षार्थी कामदार र विद्यार्थीका रुपमा पनि आमन्त्रण गरिन्छ । दुई वर्षयता खासगरी विद्यार्थीको संख्यामा उल्लेखनीय बृद्धि भैरहेको छ । यसरी आएका विद्यार्थीहरुलाई कसरी जापानमा अडिन सक्ने वातावरण बनाउने हो भन्ने कुरामा पनि नेपालका तर्फबाट सोचिनु जरुरी छ । व्यवसायी नेपालीहरुको संख्या पनि जापानमा नेपालका सन्दर्भमा उल्लेखनीय नै छ । उनीहरुको हित रक्षा र व्यवसाय विस्तारको निम्ति सहज वातावरण कसरी उपलब्ध गराइरहन सकिन्छ भन्ने विषयमा ध्यान दिनु उत्तिकै आवश्यक छ । ***