काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाउने प्रक्रिया सुरु गरेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेसँग जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी मागेको थियो । तर उनी धरौटीमा रिहा भएपनि पुनः पक्राउ पर्न सक्नेछन् ।
राजनीतिमा आउनुअघि टेलिभिजनकर्मी रहेका लामिछाने गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक थिए । विभिन्न सहकारीबाट अवैधानिक रूपमा गोर्खा मिडियामा पुगेको बचत रकम खर्च गर्ने क्रममा प्रबन्ध निर्देशकका हैसियतमा लामिछानेको पनि संलग्नता देखिएको आरोपमा लामिछानेविरुद्ध अन्य जिल्लामा पनि अनुसन्धान भइरहेको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहितलाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले अभियोजनसँगै लामिछानेलाई काठमाण्डूमा पनि बयानका लागि झिकाउन माग गरिएको बताएका छन् । ‘अभियोजनसँगै उहाँसँगै हाल पोखरामा रहेका प्रतिवादीहरूलाई बयानका लागि काठमाडौं झिकाउन हामीले माग गरेका छौँ,’ काफ्लेले भने ।
त्यसकारण लामिछाने पोखराबाट धरौटीमा रिहा भए पनि पुनः पक्राउ पर्ने अवस्था रहेको अभियोजनकर्ताहरूले बताएका छन् । ‘अभियोग लागेको व्यक्ति बाहिर भए पनि पक्राउ पुर्जी जारी हुन्छ । थुनामै रहेको व्यक्ति कारागारमार्फत् पठाइन्छ । धरौटी वा जमानतमा रिहा भएको व्यक्तिलाई बाटोको म्याद मात्रै लिएर माग भएको स्थानमा पठाउनुपर्ने हुन्छ,’ काफ्लेले भने ।
यो पनि : रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश
लामिछानेलाई विपक्षी बनाएर काठमाण्डूमा मुद्दा दर्ता भइसके पनि चितवन, पर्सा र रूपन्देहीमा पनि उनीविरुद्ध दर्ता भएको उजुरीमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसकारण लामिछाने एउटा अदालतबाट रिहा भए पनि अर्को जिल्लाको अदालतको आदेशमा पक्राउ पर्ने सम्भावना रहेको अधिकारीहरू बताउँछन् ।