टोकियो – जापानको मौसम विज्ञान निकाय र भूमि मन्त्रालयले देशको मुख्य द्वीप होन्शुको समुद्री तट क्षेत्रमा बाक्लो हिउँ पर्ने सम्भावना रहेको उल्लेख गरेका छन् । उत्तरपूर्वी र मध्य क्षेत्रहरू शुक्रबारसम्म हिउँ पर्ने हिउँ पर्ने सम्भावना रहेको हो ।
विशेष गरी बिहीबार साँझ आसपासमा वर्षा तीव्र हुने अनुमान गरिएको छ । वर्षा र हिमपातले जनजीवन प्रभावित हुनसक्ने भन्दै सडक र रेल यातायातमा अवरोध आउन सक्ने चेतावनीसहित अनावश्यक बाहिर ननिस्कन आग्रह गरिएको छ ।
भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले अत्यधिक हिउँ परेमा सुरक्षाका लागि एक्सप्रेसवे वा मुख्य सडकहरू बन्द गर्न सकिने जनाएको छ । मन्त्रालयले यसअघि बाक्लो हिउँ परेका क्षेत्रमा सवारीसाधन अलपत्र पर्ने, सडक बन्द हुने र रेल सेवामा उल्लेखनीय अवरोध हुने घटनाहरू भएको पनि स्मरण गराएको हो ।
बिहीबारसम्म तोहोकु, होकुरिकु र तोकाई क्षेत्रका उत्तरपूर्वी र मध्य जापानमा ७० सेन्टिमिटरसम्म हिउँ जम्न सक्ने, उत्तरी जापानको होक्काइदोमा ६० सेन्टिमिटरसम्म र पश्चिम जापानको चुगोकु क्षेत्रमा ५० सेन्टिमिटरसम्म हिउँ जम्न सक्ने अनुमान गरिएको छ ।