काठमाडौं – ‘हनी ट्रयाप’ मुद्दाका फरार प्रतिवादी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विनुकुमारी शाही अदालतमा हाजिर भएकी छन् । उनी आइतबार ललितपुर जिल्ला अदालतमा हाजिर भएकी प्रहरीले जनाएको छ ।
उनी ललितपुरको भैँसेपाटी प्रहरी प्रभागको प्रमुख रहँदा एक व्यवसायीलाई हनी ट्रयापमा पारेर रकम असुली गरेको आरोप थियो । प्रहरीको अनुसन्धानका क्रममा घटनामा उनको संलग्नता देखिएपछि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।
भैँसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमालविरुद्ध समेत मुद्दा दायर गरिएको थियो । उनी भने साधारण तारेखमा छुटिसकेका छन् । हनी ट्रयाप घटनामा इटहरीकी सुष्मा विक, ताज मूल इस्लाम र भीमादेवी थापा पक्राउ परेका थिए । ताज हाल पुर्पक्षका निम्ति थुनामा छन् । आरोपित दर्शन पोखरेल अझै फरार छन् । उनीहरूले एक व्यवसायीलाई सहमतिको सम्बन्धलाई बलात्कारमा फसाउने भन्दै रकम असुल गरेका अभियोग छ ।