Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

काठमाडौं – नेपाल वायुसेवा निगमका तीनवटा जहाज ग्राउन्डेड हुँदा उडान प्रभावित भएको छ । वायुसेवा निगमसँग भएका चारवटा जहाजमध्ये ३ वटा जहाज ग्राउन्डेड हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।

निगमको न्यारोबडी मंगलबार ‘ग्राउन्डेड’ हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा ८ सय हाराहारी यात्रु प्रभावित भए । निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडानहरू रद्द हुँदा यात्रुहरू प्रभावित बन्न पुगेका थिए । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग रहेका ४ जहाजमध्ये ३ जहाज ‘ग्राउन्डेड’ भएका छन् । न्यारोबडी ‘सगरमाथा’मा हाइड्रोलिकमा समस्या देखिएसँगै नागरिक उड्डयन प्राधिकरणले जहाज ग्राउण्डेड गराएको थियो ।

न्यारोबडी ‘सगरमाथा’मार्फत १५६ यात्रु लिएर काठमाडौंबाट हङकङ उड्ने जहाज ग्राउन्डेड भएपछि यात्रुहरूलाई दिनभर र्‍याडिसनको लाउन्जमा राखेर अन्य विदेशी वायुसेवाको टिकट किनेरै गन्तव्यमा पठाउने प्रबन्ध मिलाएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले निगमले हङकङ उड्ने र आउने दुवैतर्फका यात्रुलाई निगमले अलपत्र नपारेको भन्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार होटलमा व्यवस्थापन गरिएको बताए । अन्य विदेशी जहाजको टिकट काटेर यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउने काम गरेको उनको तर्क छ ।

दुईवटा वाइडबडी र एउटा न्यारोबडी ‘ग्राउन्डेड’ हुँदा नेपाल वायुसेवा निगमले दैनिक कम्तीमा पाँच करोड रुपैयाँ बराबरको व्यापार गुमाउन थालेको छ ।  वाइडबडी ‘अन्नपूर्ण’ विस्तृत मर्मत (सी-चेक) का लागि दुई महिनादेखि इटालीको नेपल्समा छ । निगमले अन्नपूर्ण असार ९ मा नेपल्स पठाएको थियो ।

विमान मर्मतमा संलग्न एमआरओ (एजेन्ट) कम्पनीले ३० दिनमै जहाजको ‘सी-चेक’ सकेर फर्काउने सम्झौतापत्रमा उल्लेख छ । तर उक्त वाइडबडी कहिले फिर्ता आउँछ भन्ने अझै निश्चित छैन । अर्को वाइडबडी ‘मकालु’ पनि सी–चेकमा पठाउनुपर्ने भएकाले बुधबार रातिदेखि नियमित उडानमा छैन । यो जहाज दुबई हुँदै इटाली पठाइएको छ ।

यस को सी-चेक साउन ९ मै गर्नुपर्ने थियो । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि नागरिक उड्डयन प्राधिकरणको नियमनकारी निकाय फलाइट सेफ्टी स्ट्यान्डडर््स विभागले वाइडबडी ‘मकालु’लाई व्यावसायिक उडानका लागि ३ सय घण्टा समय थपिदिएको थियो । सम्झौताअनुसार वाइडबडी ‘मकालु’लाई एमआरओ कम्पनीले ३० दिनमै फिर्ता पठाउनुपर्ने छ ।

अब अन्तर्राष्ट्रिय उडानमा निगमको न्यारोबडी ‘लुम्बिनी’ मात्र छ । नारिता, क्वालालम्पुर, बैंकक, हङकङ, बैंग्लुरु, मुम्बई, दिल्ली, दोहा, दुबई र दमाममा हुने उडान त्यही न्यारोबडीबाट गराउनुपर्ने बाध्यता छ । जगेडा जहाज नहुँदा कतिपय उडान रद्द गर्नुपर्ने अवस्था आएको छ ।ठूलो नोक्सान 
निगमको मार्केटिङ विभागका अनुसार एउटा न्यारोबडीले दिनमा करिब एक करोड र दुईवटा वाइडबडीले चार करोडको कारोबार गर्दै आएका थिए । तीन वटा विमान ‘ग्राउन्डेड’ भएपछि सबैभन्दा नाफा हुने जापानको नारिता रुटमा मात्रै सातामा १८ करोडको नोक्सानी हुने भएको छ । यस रुटमा निगमको वाइडबडीले कार्गोबाट पनि मनग्य आम्दानी गर्दै आएको छ ।

एउटा उडानमा कार्गोबाट हुने न्यूनतम १०-२० लाखलाई समेत हिसाब गर्दा नारिता उडान बन्दका कारण निगमले सातामा १९ करोडसम्मको आम्दानी गुमाउँछ । काठमाडौं-नारिता-काठमाडौं रुटमा निगमले सातामा तीन वटा उडान गर्दै आएको थियो । यस रुटमा एकतर्फी भाडा १ लाख २० हजार रुपैयाँ छ । चाडपर्व नजिकिँदै गर्दा निगमले एकतर्फी २ सय ५० यात्रु उडाउँदा पनि ३ करोडसम्मको व्यापार हुन्छ ।

यो बेला यात्रुको चाप बढी हुने गरेको छ । ‘चाडपर्व नजिकिँदै गर्दा २ सय ७४ सिटको एउटा वाइडबडीमा दुईतर्फी ५ सय यात्रु हुन्छन्,’ निगमका एक वरिष्ठ निर्देशकले भने, ‘यो हिसाबअनुसार सातामा तीन उडान बन्द हुँदा यात्रुबाट आउने १८ करोड हाराहारी रकम गुम्छ ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया