Deneme Bonusu Veren Siteler
शुक्रबार, भाद्र २८, २०८१
Friday, September 13, 2024

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले भूकम्प पीडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोषका लागि संकलित २३ लाख जापानी येन रकम हस्तान्तरण गरेको छ । गतवर्ष जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित क्षेत्रका बालबालिकाकालाई ‘भूकम्प पीडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष’का लागि संकलित सो रकम शनिबार जापानको टोकियोमा आयोजित सहयोग रकम हस्तान्तरण तथा अन्तरक्रियात्मक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचन र एनआरएनए जापानका अध्यक्ष नविन निउरेले संयुक्त रूपमा कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीमार्फत त्यस क्षेत्रका स्थानीय सरकारलाई सो कोष स्थापना गरी उद्देश्य अनुरूप सञ्चालनका लागि रकम हस्तान्तरण गरिएको ‘भूकम्प पीडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष’ संकलन अभियानका संयोजक सुवास लामिछानेले जानकारी दिए ।

उनकाअनुसार एनआरएनए आइसीसीसँगको परामर्शमा मुख्य गरेर भूकम्पमा परि आमाबुवाको मृत्यु भएका, भूकम्पमा परि बुवाको मृत्यु भएका, भूकम्पमा परि आमाको मृत्यु भएका बालबालिका मध्यबाट स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा केही बालबालिकालाई आधारभूतदेखि एसइईसम्म शैक्षिक रूपमा सहयोग गर्न उक्त कोष ‘भूकम्प पीडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष’ स्थापना गरी सञ्चालन गरिनेछ ।अभियानबाट संकलित रकमलाई एनआरएनए आइसिसी र भूकम्प प्रभावित क्षेत्रका स्थानीय सरकारसँगको सहकार्य र नीति बमोजिम निश्चित बैंकमा राखी त्यसबाट प्राप्त ब्याजमार्फत उक्त शैक्षिक कार्यमा सहयोग गरिने एनआरएनए जापानको सोच र योजना रहेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचनले एनआरएनएले सामाजिक उत्तरदायित्वका क्रियाकलाहरूमा गर्दै आइरहेको र सोही सन्दर्भमा एनआरएनए जापानले शिक्षा क्षेत्रमा गरेको यो कार्यले नेपाली समाजमा सकारात्मक सन्देश जाने विचार व्यक्त गरे ।

सोही कार्यक्रममा बोल्दै एनआरएनए एसिया क्षेत्रीय समन्वय समितिका उप संयोजक दीपक कँडेलले एनआरएनए नेपालीलाई दुखेको ठाउँमा उपस्थित हुने मान्यता अनुरूप एनआरएनए जापानले भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक गतिविधिमा कोष स्थापना गरेर दीर्घकालीन सुखद सुरुवातको कार्य गरेकोमा खुसी व्यक्त गरे । एनसीसी र आइसीसी समन्वयात्मक रूपमा कार्य गरेर ‘एक एनसीसी एक कार्यक्रम’ अन्तर्गत यही कोषलाई अघि बढाउन सहयोग गर्दै जापानमा रहेका एनआरएनए आईसीसीका पदाधिकारी सदस्यहरूले भूकम्प पीडित सहयोगका बेला रकमलाई यही कोषमार्फत जम्मा गर्न आफूले पहल गर्ने उनको भनाई छ ।

कार्यक्रममा रकम हस्तान्तरित गर्दै कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीले उद्देश्य अनुरूप कोष स्थापना र सञ्चालन गर्न आफूहरूले आवश्यक पहल र समन्वय गर्ने बताए । स्मरण रहोस् गतवर्ष २०८० कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।सोही कार्यक्रममा नेपालबाट जापान भ्रमणमा रहेका सामाजिक तथा राजनीतिक व्यक्तित्व जगत गौचन र नार्कोटिक्स सेन्टर ब्यूरो कोटेश्वरका वरिष्ठ प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । सो अवसरमा एनआरएनए जापानले बागलुङको विहुमा स्थापना गरिएको करलिम कल्याण कोषका लागि जापानी येन १ लाख रकम समेत विहुकोट समाज जापानका अध्यक्ष दीपक कँडेलमार्फत हस्तान्तरण गरिएको थियो ।

मनाङको लोकप्रिय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुर्‍याउने उद्देश्यले १ लाख जापानी येन सहयोग रकम हस्तान्तरण गरिएको एनआरएनए जापानका महासचिव टिकाराम खरेलले जानकारी दिए । सहयोग रकम हस्तान्तरण तथा अन्तरक्रियात्मक कार्यक्रम एनआरएनए जापानका अध्यक्ष निउरे अध्यक्षता उपाध्यक्ष सुवास लामिछानेको स्वागत मन्तव्य र महासचिव टिकाराम खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया