काठमाडौं – साफ यू-२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा घरेलु टोली नेपाल भुटानविरुद्ध भिड्दै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो सेमिफाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ । समूह एको विजेता नेपाल आज भुटानलाई हराउँदै अपराजित रूपमा फाइनल खेल्न चाहन्छ ।
नेपालका लागि भुटान सहज प्रतिद्वन्द्वी भने होइन । पछिल्लो समय नियमित प्रशिक्षणमा रहेको भुटानी युवा टोली निकै लयमा छ । पछिल्लोपटक सन् २०१९ मा घरेलु मैदानमा भएको खेलमा नेपाल भुटानसँग ३-० गोलअन्तरले हराएको थियो । सन् २०१७ मा पनि नेपाली युवा टोलीले भुटानसँगै हारेको थियो । यसपटक भने नेपाल भुटानको चुनौती पन्छाउँदै उपाधिको नजिक पुग्ने योजनामा छ ।
भुटानी टोली पनि नेपाललाई घरेलु मैदानमै स्तब्ध पार्दै च्याम्पियनसिपको फाइनल खेल्ने दाउमा छ । पछिल्लो समय उमेर समूहदेखि नै फुटबलमा लगानी बढाइरहेको भुटानले अपेक्षाकृत नतिजा हात पारिरहेको छ । जारी च्याम्पियनसिपमा पनि भुटानी युवा टोलीको प्रर्दशन प्रशंसायोग्य छ ।
नेपालले समूह चरणमा श्रीलंकालाई १-० ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई २-१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा भारतसँग २-१ ले पराजित भुटान भने समूह चरणको दोस्रो खेलमा माल्दिभ्सलाई २-१ गोलअन्तरले नै हराएर सेमिफाइनलमा प्रवेश गरेको हो । भुटान भारत र मालदिभ्सविरुद्ध दुवै खेलमा १० खेलाडीमा सीमित भएको थियो ।