काठमाडौं – कीर्तिपुरस्थित टियु क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालामा रुपान्तरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सक्रियता बढाएका छन् ।
सोही क्रममा विषयमा प्रधानमन्त्री आइतवार क्यानका केही पदाधिकारी, पुर्व क्रिकेटर, वर्तमान टिमका सदस्य, क्रिकेटप्रमी कलाकारहरुलाई संयुक्त रुपमा भेटेर सल्लाह गरेका छन् । संयुक्त भेटघाट भएको प्रधानमन्त्री स्वयमले आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएका हुन्
‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ । आजको बिहानी खाजा भेटपछि म उत्साही छु,’ प्रधानमन्त्रीले आफ्नो फेसबुकमा लेखेका छन् ।
मन्त्रीपरिषदको पहिलो बैठकबाट नै टियु मैदानलाई ३ सय दिनमा नै अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न बनाउँने निर्णय गराएका प्रधानमन्त्री ओलीले त्यसका लागि सक्रियता देखाइरहेका छन् । यसै सिलसिलामा उनले केही दिनअघि क्यान अध्यक्ष लगायतलाई पनि भेटेका थिए ।