शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

काठमाडौं – कोपा अमेरिका फुटबल २०२४ मा ब्राजिल समूह उपविजेता बनेको छ । बिहान सम्पन्न ग्रुप स्टेजको अन्तिम खेलमा कोलोम्बियासँग १-१ को बराबरी खेलेपछि ब्राजिल समूह ‘डी’ को उपविजेता बनेको हो ।

अमेरिकाको लेभिस स्टेडियममा भएको खेलमा ब्राजिलले अग्रता जोगाउन नसक्दा कोलोम्बियासँग अंक बाँड्यो । राफिनहाको गोलमा १२ मिनेटमै सुरुवाती अग्रता लिएको थियो । राफिनहाको फ्रि-किकको सदुपयोग गर्दै उत्कृष्ट गोल गरे ।

डेनियल मुनोजले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै खेललाई १-१ को स्थितिमा ल्याए । त्यसपछि दुवै टिमले गोल गर्न नसकेपछि एक-एक अंक बाँडे । यो नतिजापछि कोलोम्बिया समूह ‘डी’ को विजेता बन्यो । अब उसले क्वाटरफाइनलमा पानामासँग खेल्नेछ ।

ब्राजिलले क्वाटरफाइनलमा उरुग्वेलाई प्रतिद्वन्द्वी पाएको छ । क्वाटरफाइनलको यी दुई खेल ७ जुलाईमा हुने छन् ।

Copa America Soccer Costa Rica Paraguay

अर्को खेलमा सन् २०११ को उपविजेता पाराग्वे कोस्टारिकासँग २-१ ले पराजित भएको छ । अमेरिकाको क्यूटु स्टेडियममा सम्पन्न खेलमा कोस्टारिकाको जितमा फ्रान्सिस्को काल्भो र जोसिमार अल्कोसरले समान एक गोल गरे ।​ पाराग्वेका लागि रामोन सोसाले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै फ्रान्सिस्को काल्भोले गोल गर्दै कोस्टारिकालाई सुरुवाती अग्रता दिलाए । सातौं मिनेटमा जोसिमार अल्कोसरले गोल गर्दा पहिलो हाफमै कोस्टारिकाले २-० को अग्रता पायो । ५५औँ मिनेटमा जोसिमार अल्कोसरले गोल फर्काए पनि पाराग्वेका लागि त्यो पर्याप्त भएन ।

योसँगै कोस्टारिकाले सुखद् अन्त्य गर्यो । समूह ‘डी’ मा रहेको उसले तीन खेलबाट चार अंक जोड्यो । अंकविहीन पाराग्वे भने समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

तपाईको प्रतिक्रिया