बिहिबार, आषाढ २०, २०८१
Thursday, July 4, 2024

काठमाडौं – फ्रान्स र पोर्चुगल युरोपेली च्याम्पियनसिप २०२४को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स अन्तिम आठमा पुगेको हो ।

खेलको एकमात्र गोल ८५औं मिनेटमा आत्मघाती गोलको रूपमा आएको थियो । रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको थियो । सोही गोलको मद्दतले फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

दुई दावेदार टोली बीच आँकलन गरेभन्दा केही फितलो प्रदर्शन प्रस्तुत भएको थियो । दुवै टोलीले मौकाहरु सिर्जना गर्न संघर्ष गर्नु परेको थियो । र अन्त्यमा खेलको छिनोफानो आत्मघाती गोलले हुन पुग्यो । फ्रान्सले अब क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ ।

राति भएको खेलमा गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३-० ले विजयी भयो ।

पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ । क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा जर्मनी र स्पेन खेल्ने पक्का भइसकेको छ ।

तपाईको प्रतिक्रिया