बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

काठमाडौं – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ ।

जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे ।

पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि स्पेन दबाबमा परेको थियो । जर्जियाको काउन्टर अट्याकमा आएको क्रस क्लियर गर्न खोज्दा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेका थिए । अब स्पेनले क्वाटरफाइनलमा जर्मनीको सामना गर्नेछ ।त्यसअघि सम्पन्न खेलमा खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । इङल्याण्डले १-० गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै जित हासिल गरेको हो ।

इन्ज्युरी समयको पाँचौं मिनेट एक लामो थ्रो-इनमा मार्क गेहीको फ्लिक-अन हेडरमा उत्कृष्ट बाइसाइकल किक मार्फत गोल गर्दै जुड बेलिङ्घमले खेल अतिरिक्त समयमा धकेलेका थिए ।

अतिरिक्त समयको पहिलो मिनेटमा नै ह्यारी केनले इङ्ल्यान्डलाई अग्रता दिलाए । इभान टोनीको पासमा सबैभन्दा अघि पुग्दै केनले हेडर मार्फत गोल गर्दै अग्रता दिलाएका थिए । सोही गोल जितका लागि पर्याप्त बन्यो ।

खेलको २५औ मिनेटमा स्लोभाकियाका लागि इभन स्च्रांजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । अब क्वाटरफाइनलमा इङल्याण्डले स्वीजरल्याण्डको सामना गर्ने छ ।

तपाईको प्रतिक्रिया