मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौं – भारतीय दुई स्टार क्रिकेटरले अन्तर्राष्ट्रिय टी-२० बाट सन्यासको घोषणा गरेका छन् । टी-२० विश्वकप जितेपछि  भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी-२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका हुन् ।

खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी-२० विश्वकपको फाइनल खेल आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए । रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनपर्‍यो । म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’

यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन् । रोहितअघि विराट कोहलीले पनि टी-२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए । कोहलीले भने, ‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो । यो हामीले हासिल गर्न चाहेका थियौं, यो मेरो भारतका लागि अन्तिम टी-२० खेल हो । हामी यो कप उठाउन चाहन्थ्यौं । अब समय आएको छ, टी-२० क्रिकेटलाई युवा खेलाडीहरूले अगाडी बढाउने छन् ।’

रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी-२० विश्वकप जित्न सफल भएको छ । यसअघि भारतले टी-२० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो ।

तपाईको प्रतिक्रिया