मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौं – नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो ।

भारतले १७ वर्षपछि टी- २० विश्वकपको उपाधि जितेको हो । भारतले पछिल्लोपटक सन् २००७ मा यो ढाँचाको विश्वकपको उपाधि जितेको थियो । दक्षिण अफ्रिकाको सपना भने अधुरै रह्यो । फाइनलमा भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्याे ।

उसका लागि हेनरिक क्लासेनले आक्रामक इनिङ खेले । उनले २७ बलमा पाँच छक्का र दुई चौकासहित ५२ रनको पारी खेलेका हुन् । यस्तै, क्विन्टन डिककले ३१ बलमा चार चौका र एक छक्कासहित ३९ रन बनाए । ट्रिस्टन स्टब्सले २१ बलमा तीन चौका र एक छक्कासहित ३१ रनको पारी खेले । डेविड मिलरले २१ रन जोडे । भारतका लागि हार्दिक पाण्ड्याले तीन, जसप्रित बुमराह र अर्शदीप सिंहले दुई/दुई तथा अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि क्यारेबियन मुलुक बार्बाडोसस्थित केन्सिङ्टन ओवल मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनायो । उसका लागि ओपनिङ ब्याटर विराट कोहलीले अर्धशतकीय इनिङ खेले । उनले आज ५९ बलमा ६ चौका र दुई छक्कासहित ७६ रनको इनिङ खेले । विश्वकप २०२४ मा उनको यो पहिलो अर्धशतक हो । समग्र टी-२० आई करियरमा भने कोहलीको यो ३८औँ अर्धशतक हो । अलराउन्डर अक्षर पटेलले ३१ बलमा चार छक्का र एक चौकासहित ४७ रन बनाए । त्यस्तै, शिवम दुबेले १६ बलमा तीन चौका र एक छक्कासहित २७ रनको पारी खेले ।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिक नोर्टजेले दुई/दुई तथा मार्को यान्सन र कागिसो रबाडाले एक/एक विकेट लिए । दसौँ संस्करणको टी-२० विश्वकप सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुनेछ । उक्त विश्वकपमा पनि २० टिमको सहभागिता रहनेछ ।

तपाईको प्रतिक्रिया