सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

काठमाडौं – कोपा अमेरिका फुटबलमा कोलोम्बिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान सकिएको खेलमा कोस्टारिकालाई ३-० गोल अन्तरले हराउँदै कोलोम्बिया एक खेलअगावै अन्तिम ८ मा प्रवेश गरेको हो ।

समूह ‘डी’ मा कोलोम्बिया ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । जारी प्रतियोगितामा कोस्टारिकाको पहिलो हार हो । यसअघिको खेलमा कोस्टारिका ब्राजिलसँग बराबरीमा रोकिएको थियो ।

एरिजोनामा भएको खेलमा कोलोम्बियाले ३१ औं मिनेटमा अग्रता लिएको थियो । कोस्टारिकाका गोलकिपर पेट्रिक सेक्वेराले कोलोम्बियाका जोन कोर्डोबालाई फल गरेपछि पेनाल्टी दिइएको थियो । उक्त पेनाल्टीलाई लुइस डियाजले गोल गर्दै कोलोम्बियालाई अग्रता दिलाए ।

५९ औं मिनेटमा जोन एरियासले दिएको पासमा डेविसन सान्चेजले हेडर गोल गर्दै अग्रता दोब्बर बनाए । ६२ औं मिनेटमा जेम्स रोड्रिगेजले दिएको थ्रो बलमा जोन कोर्डोबाले राइटफुटेड सट प्रहार गर्दै गोलमा परिणत गरेका थिए । ३–० को सहज अवस्थालाई अन्तिमसम्म कायम राख्दै कोलोम्बियाले महत्वपूर्ण ३ अंक लिन सफल भयो ।

सोही जितसँगै कोलोम्बिया एक खेलअगावै कोपाको क्वाटरफाइनलमा प्रवेश गरेको हो । यही समूहमा रहेका पाराग्वे र ब्राजिलबीच आजै प्रतिस्पर्धा हुँदै छ । क्वाटरफाइनल पुग्नका लागि दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ ।

समूह चरणको अन्तिम खेलमा ३ जुलाईमा ब्राजिल र कोलोम्बिया तथा कोस्टारिका र पाराग्वे आमनेसामने हुने छन् ।

तपाईको प्रतिक्रिया