काठमाडौं – नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुँदै १६८ रन बनाएको थियो ।
नेपालका लागि आसिफ सेखले सर्वाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भीम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शून्यमा आउट भए भने दीपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए । नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४ विकेट लिएका थिए ।
यो जितपछि लिग-२ मा नामिबियाको ३ खेलमा ४ अंक भएको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ । अब लिग-२ को यस सिरिजको अर्को खेल आगामी शुक्रबार नामिबियाले नेदरल्याण्डसको सामना गर्ने छ ।
लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।