Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

टोकियो – जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । तर, अभियानकर्ताले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् ।

आपत्कालीन गर्भनिरोधक चक्की सामाजिक रूपमा रूढीवादी जापानमा चिकित्सकको प्रेस्क्रिप्सन र क्लिनिक वा फार्मेसीमा गएर मात्र उपलब्ध हुने भन्दै अधिकार समूहहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । अभियानकर्ताका अनुसार यसले धेरै महिला, विशेष गरी बलात्कार पीडित र किशोरीहरूलाई टाढा राखेको छ ।

पाइलट प्रोजेक्टअन्तर्गत यौनसम्पर्कको ७२ घन्टाभित्र गर्भधारणलाई रोक्न सक्ने तर समयसँगै कम प्रभावकारी हुने चक्की १४५ फार्मेसीमा उपलब्ध गराउने तयारी छ । तर, जापान फर्मास्युटिकल एसोसिएसनको वेबसाइटअनुसार महिलाहरूले अहिले पनि परिचयपत्र देखाउनुपर्ने र फर्मासिस्टको अगाडि औषधि लिनुपर्नेछ ।

चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की लिन न्यूनतम उमेर १६ छ । तर, १८ वर्षभन्दा कम उमेर भएकालाई बुबाआमा वा अभिभावक हुन आवश्यक छ । गर्भनिरोधक चक्कीको मूल्य सात हजारदेखि नौ हजार येन (४७ देखि ६१ अमेरिकी डलर)को बीच निर्धारण गरिएको छ ।

आपत्कालीन गर्भ निरोधकका लागि फार्मेसी परियोजना अभियान समूहले परीक्षण पर्याप्त नभएको बताएको छ । समूहका सह–अध्यक्ष असुका सोमेयाले भनिन्, “फार्मेसीको छनोट अत्यन्तै कडा थियो । यो चक्की १४५ औषधि पसलमा मात्र उपलब्ध छ, यो जापानमा कूल ६० हजारमा शून्य दशमलव दुई प्रतिशत मात्र हो ।”

उनले बुबाआमाको सहमतिको आवश्यकताले नाबालिगहरूलाई ठूलो बाधा उत्पन्न गर्ने बताइन् । “यस्ता धेरै मानिस छन्, जसले सम्भावित गर्भावस्थाका बारेमा आफ्ना बुबाआमासँग कुरा गर्न सक्तैनन् । उनीहरूलाई आफ्नो यौन अनुभव र गर्भावस्थाको चिन्ताका बारेमा बुबाआमासँग कुरा गर्न कठिन हुनेछ,” उनले भनिन्, “हामीले फेरि पनि स्वास्थ्य मन्त्रालयसँग कुनै प्रतिबन्धबिना फार्मेसीहरूमा चक्की सम्पूर्णरूपमा र छिटो उपलब्ध गराउन अनुरोध गरेका छौँ ।”

पाइलट प्रोजेक्टले यो वर्ष स्वास्थ्य मन्त्रालयको सार्वजनिक परामर्शमा अत्यधिक सकारात्मक प्रतिक्रियालाई अनुशरण गरेको छ । परामर्शमा ४६ हजार उत्तरदाताहरूमध्ये ९७ प्रतिशतले पक्षमा राय दिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन गर्भनिरोधक चक्की सबै राष्ट्रिय परिवार नियोजन कार्यक्रममा नियमित रूपमा समावेश गर्नुपर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । अभियानकर्ताका अनुसार ९० भन्दा बढी मुलुकमा बिनाप्रेस्क्रिप्सन गर्भनिरोधक चक्कीको बिक्रीलाई अनुमति दिइएको छ । एएफपी

तपाईको प्रतिक्रिया