टोकियो – सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको मिति घोषणा भएको छ । मिस वल्र्डपछि विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको ६१ औं संस्करणको मिति घोषणा भएको हो ।
जापानको टोकियोस्थित योयोगी राष्ट्रिय व्यायामशालामा आगामी अक्टोबर २६ तारिख (कात्तिक ९) फिनाले हुनेगरी मिति तोकिएको छ । मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धि शाहको तस्वीर सेयर गर्दै मिस इन्टरनेसनल मिति तय भएको उल्लेख गरेकी छन् ।
मिस इन्टरनेसनलले प्रसिद्धिलाई पहिलो मिस नेपाल रुबी राणाको छोरीको रुपमा चिनाएको छ । ‘२५ वर्षीया उद्यमीले आफ्नो मिस नेपालको यात्रा अनुशासन, प्रेम र मित्रताको संकल्पको यात्रा भएको वाचा गरिन्,’ लेख्दै प्रसिद्धिको तस्वीर सेयर गरिएको छ ।
मिस इन्टरनेसनलको प्रतिस्पर्धा प्रायः दशैं छेकोमा आयोजना हुने गर्छ । आफूलाई अन्तर्राष्ट्रिय पेजेन्टबाटै ‘इन्डोर्स’ गरिएपछि प्रसिद्धिले पनि इन्स्टाग्रामबाट खुसी व्यक्त गरेकी छन् । प्रसिद्धिले फिनालेमा नेपालको संस्कृति र बालबालिकासम्बन्धी एजेण्डालाई प्रस्तुत गर्ने जनाएकी छन् ।
उनले फिनालेका लागि तयारी थालेकी छन् । यसका लागि उनी जापानी भाषा सिकिरहेकी छन् । यसबाहेक जापानी संस्कृति पनि बुझिरहेकी छन् । बालबालिका र संस्कृतिसम्बन्धी एजेण्डालाई जापानमा हुने फिनालेमा प्रस्तुत गर्ने उनको तयारी छ । सम्भवतः आफ्नो सामाजिक संस्था कोपिला र त्यहाँ भइरहेका प्रयासलाई उनले त्यहाँ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
उनी पेशाले शिक्षक तथा उद्यमी हुन् । मिस इन्टरनेसनलका अनुसार मंगलबारसम्म २९ जना प्रतिस्पर्धी तय भइसकेका छन्, जसमा नेपालबाट प्रसिद्धि छिन् । वर्तमान मिस इन्टरनेसनल जर्मनीकी जस्मिन सेलबर्गले नयाँ विजेतालाई ताज पहिर्याउनेछिन् ।