शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रकृया पूरा गरेर ल्याउन पाउने सुविधा थियो ।

श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्ताव गरेको उक्त सुविधा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्ले पारित गरेको हो ।

२०७७ साल जेठ १५ गते प्रकाशित सुचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगरीमा ६ महिना काम गरेर फर्किएकालाई थप एक थान मोबाइल फोन ल्याउन पाउने सुविधा सरकारले दिएको हो ।

श्रम मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक तयारी गरी कार्यान्वयनमा लैजाने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । गत पुस १५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू नगर्न निर्देशन दिएका थिए । भन्सार छली तथा अवैध तवरबाट भित्रिने फोनको कारोबार नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस तयार पारेको हो ।

तपाईको प्रतिक्रिया