काठमाडौं – बलिवुडकी कास्टिङ निर्देशक तथा अभिनेत्री आरती मित्तललाई मुम्बई प्रहरीको अपराध शाखाले पक्राउ गरेको छ । मित्तललाई फिल्म उद्योगमा सेक्स र्याकेट चलाएको आरोपमा पक्राउ गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
मित्तलमाथि फिल्म उद्योगमा सेक्स र्याकेट चलाएको र ग्राहकलाई मोडल आपूर्ति गरेको आरोप छ । मुम्बईको क्राइम ब्रान्च युनिटले फिल्मी क्षेत्रमा हुने गरेको सेक्स र्याकेट पर्दाफास गर्ने स्टिंग अप्रेसन गरेको उल्लेख गरिएको छ । प्रारम्भिक अनुसन्धान पछि, मित्तलविरुद्ध अवैध ओसारपसार र वेश्यावृत्तिको अन्य धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार प्रहरीले आफैँले उक्त क्षेत्रमा नक्कली ग्राहक पठाएर सम्पूर्ण घटना रेकर्ड गरेका थिए । यसपछि निर्देशक मित्तलविरुद्ध प्रमाण जुटाएर पक्राउ गरी मुद्दा दर्ता गरेको छ । स्टिंग अप्रेसनका क्रममा अन्य दुई मोडल पनि पक्राउ परेका छन्, जसलाई प्रहरीले उद्धार गरी पुनर्वास केन्द्रमा पठाएको छ । आरतीले मोडलहरूलाई पैसाको लोभ देखाएर सेक्स र्याकेटमा फसाउने गरेको जनाएको छ ।
आरती मित्तल एक चर्चित कास्टिङ निर्देशक तथा अभिनेत्री हुन् । उनले टिभी सिरियल ‘अपनपान’ मा काम गरिसकेकी छन् । यससँगै उनी जी ५ को सिरिज एक्स्प्लोसिभमा पनि देखिएकी छिन् । केही समयअघि आरतीले सामाजिक सञ्जालमा आफू अभिनेता आर माधवनसँग फिल्मको सुटिङ गरिरहेको बताएकी थिइन् ।