सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – अमेरिका, चीन, जापान र युरोपका बजारमा नेपाली ‘ब्रान्ड’ खोज्यो भने भेटिन्छ, गलैंचा । ती देशमा नेपाली गलैंचा लोकप्रिय छ । जसले देशको इज्जत बढाएको छ तर, स्वदेशमा गलैंचा उद्योग जीर्ण बन्दै गएको छ ।

सरकारले बजारीकरणमा सहयोग नगरेको व्यवसायीको गुनासो छ । गलैंचा कुनै समय वार्षिक ३५ अर्ब रुपैयाँसम्मको निर्यात हुन्थ्यो । तर, पछिल्ला वर्ष घटेको छ । वार्षिक ६ अर्बदेखि साढे ९ अर्ब हाराहारीमा विदेशी बजारमा पुगिरहेको छ । चालू आर्थिक वर्ष ०७९÷८० को ८ महिनामा ७ अर्ब ३८ करोड मूल्यको निर्यात भएको छ । यही अवधिमा कुल निर्यात १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख ९३ हजार रुपैयाँ बराबरको भएको छ । यसमा गलैंचाको हिस्सा ७.०४ प्रतिशत छ ।

भन्सार विभागका अनुसार सबैभन्दा बढी निर्यात हुनेमा गलैंचा पर्छ । विदेशी मुद्रा भित्र्याउनेमा यसकै हिस्सा बढी छ । केही वर्षयता निर्यातमा सुधार भइरहेको छ । तापनि, सरकारी सहयोग पर्याप्त नरहेको व्यवसायी बताउँछन् । विगतमा चर्को लोडसेडिङ, महाभूकम्प र कोभिडका कारण गलैंचा उद्योगलाई धक्का पुगेको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष ई तेञ्जिङ शेर्पा बताउँछन ।

यो उद्योगलाई सुदृढ बनाउन सरकारी नीति नियममै सुधार ल्याउनुपर्ने उनको भनाइ छ । सरकारले गलैंचा निर्यातमा लगानीको ५ प्रतिशत अनुदान दिने गरेको छ । तर, अनुदान लिन निकै झन्झटिलो प्रक्रिया रहेको व्यवसायीको गुनासो छ ।

तपाईको प्रतिक्रिया