शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानका ५५ वर्षीय स्ट्राइकर काजुयोसी मिउराले पोर्चुगलको दोस्रो डिभिजन क्लब ओलिभेइरेन्सीबाट खेल्ने भएका छन् । विश्वकै पाको खेलाडीको रुपमा चित्रण गरिएको मिउरा लोनमा जापानी क्लब योकोहोमाबाट ओलिभेइरेन्सी आइपुगेका हुन् ।

फेब्रुअरी २६ मा ५६ वर्षका लाग्ने मिउरा जापानी व्यावसायिक फुटबलमा गोल गर्ने सबैभन्दा बुढो खेलाडी हुन् । उनले यसअघि आफ्नो व्यावसायिक करियरमा ब्राजिल, जापान, इटाली, क्रोएसिया, इटाली र अस्ट्रेलिया गरी पाँच देशका क्लबबाट फुटबल खेलिसकेका छन् ।

मिउराले सन् १९८६ मा ब्राजिलियन क्लब सान्तोसबाट आफ्नो व्यावसायिक फुटबल करियरको सुरुआत गरेका थिए । उनी सन् २०१७ मा जापानी लिगमा गोल गर्ने सबैभन्दा बुढो खेलाडी बनेका थिए । उनले त्यसबेला ५० वर्ष १४ दिनको उमेरमा थेस्पाकुसात्सु गुन्माविरुद्ध गोल गरेका थिए ।

सन् १९९० देखि २००० सम्म जापानको राष्ट्रिय टिमबाट खेलेका उनले ८९ खेल खेल्दा ५५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले सन् २०१२ मा जापानको फुटसल टिमबाट पनि अन्तर्राष्ट्रिय खेल खेलेका थिए । जापानको राष्ट्रिय फुटसल टिमबाट ६ खेल खेल्दा मिउराले एक गोल गरेका छन् ।

तपाईको प्रतिक्रिया