काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको बताएका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा प्रचण्डलाई विश्वास दिएर गल्ती भएको महसुस गरेका हुन् । आफूले तटस्थ बसौँ भनेर प्रस्ताव राखे पनि बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको कोइरालाको भनाइ छ ।
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन । दिएर गल्ती गरियो । तटस्थ बसौँ भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले भने, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने वाध्यता भयो ।’ सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो । कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहित चार नेताले उक्त निर्णयमा असहमति जनाएका थिए ।