शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले विश्वकै महँगोमध्येको एक पानी जहाज (सुपरयाच) नियन्त्रणमा लिएको छ । फिजीको तटीय क्षेत्रमा तैरिरहेको पानी जहाजलाई एफबीआईले नियन्त्रणमा लिएको हो ।

अमाडिया नामक सो पानी जहाजको लम्बाई १०६ मिटर छ । अधिकांश समय प्रशान्तीय सामुद्रिक क्षेत्रमा तैरिरहेको देखिने याच हाल अमेरिकाको नियन्त्रणमा छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यसलाई अमेरिकी जाँच ब्यूरोले हात पारेको अहिलेसम्मकै बहुमूल्य वस्तु भनेका छन् ।

३२ करोड ५० लाख अमेरिकी डलरको सो याचको नेपाली मूल्य ४२ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी पर्छ । अत्याधुनिक र सुविधासम्पन्न सो याचमा विलासी जीवनका हरेक चिज रहेको भनिएको छ । टाढाबाट हेर्दा बरफको पहाजजस्तो देखिने पानी जहाज भव्य र सुविधासम्पन्न छ । एक फुटबल मैदानजत्रो लम्बाइको यो विलासी पानी जहाजमा १६ जना पाहुनाका लागि लक्जरी क्याबिन छन् ।

चालक दलका ३६ जना सदस्यलाई समेत कोठाको व्यवस्था छ । यस पानी जहाजभित्रै हेलिप्याड र इन्फिनिटी पुल, जीम, ब्यूटी सलुन, सिनेमा घर र वाइन सीलरजस्ता सुविधासमेत छन् । यो पानीजहाजको सञ्चालनका लागि मात्रै वार्षिक २ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी लाग्ने जनाइएको छ ।

अमेरिकी अनुसन्धानकर्ताले यस विलासी पानी जहाजका वास्तविक मालिक रुसी अर्बपति एवं नेता सुलेमन केरिमोभ रहेको दाबी गरेका छन् । तर, रुसले अस्वीकार गरेको छ । ५६ वर्षीय केरिमोभ रुसका सर्वाधिक धनी व्यक्तिको सूचीमा पर्छन् । फोर्ब्स म्यागेजिनका अनुसार केरिमोभको कूल सम्पत्ति १२ अर्ब ४० करोड अमेरिकी डलर छ ।

आफ्ना सम्पत्तिमाथि प्रतिबन्ध लाग्ने डरले धेरैजसो धनाढ्यले यस्ता विलासी पानी जहाजको प्रयोग गरि विभिन्न मुलुकसम्म जाने गरेको बताइएको छ । एफबीआईले यो पानी जहाज केरिमोभको भएको दाबी गरेको थियो । तर, उनले अस्वीकार गरेपछि उक्त पानी जहाजको वास्तविक मालिक पत्ता लगाउन एफबीआईले अनुसन्धान गरिरहेको बीबीसीले उल्लेख गरेको छ। केरिमोभलाई अमेरिकाले सन् २०१८ मा प्रतिबन्ध लगाएको थियो ।

तपाईको प्रतिक्रिया