शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ — अघिल्ला निर्वाचनमा मतदान गर्नबाट वञ्चित रहेका तनहुँ कारागारको कैदीबन्दीले यस पटक कारागारमै मतदान गरेका छन् । मतदाता नामावली भएका कैदीबन्दीले कारागारमा बनाइएको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ मतदान गरेका हुन् ।

तनहुँ कारागारमा २८१ पुरुष र १४ महिला गरी २९५ कैदीबन्दी छन् । उनीहरूमध्ये ९० जना पुरुष र ४ जना महिला गरी ९४ जना कैदीबन्दीले मात्रै मतदान गर्न पाउने कारागार कार्यालय दमौली अस्थायी मतदान केन्द्रका मतदान अधिकृत कृष्णप्रसाद गौतमले बताए । उनले भने, ‘यस केन्द्रमा पनि अन्य केन्द्रकै सरह ७ बजेबाट मतदान सुरु भएको हो ।’

यस्तै नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल (पूर्णविक्रम) शाहले भने मतदान गर्न पाउने छैनन् । गौतमका अनुसार शाहको मतदाता नामावलीमा नाम नभएको हुँदा मतदान गर्न नपाएका हुन् ।

यसैगरी मतदान निजामती कर्मचारीका लागि पनि मतदान गर्नका लागि कृषि ज्ञान केन्द्र अस्थायी मतदान केन्द्र बनाइएको छ । उक्त मतदान केन्द्रमा करिब १ हजार ७२ जना कर्मचारीले मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचनका लागि विभिन्न केन्द्रमा खटिएका कर्मचारीले भने सोही केन्द्रमै मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया