शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – जापानसहित विभिन्न ५ मुलुकका प्रस्तावित राजदूतहरुको अनुमोदन भएको छ । शनिबार संसदीय सुनुवाइपछि उनीहरू राजदूतका लागि अनुमोदन भएका हुन् ।

सरकारले सिफारिस गरेका जापानका लागि दुर्गाबहादुर सुवेदी, इजिप्टका लागि सुशीलकुमार लम्साल, ब्राजिलका लागि निर्मलराज काफ्ले, अस्ट्रेलियाका लागि भरतकुमार रेग्मी र बहराइनका लागि तीर्थराज वाग्ले राजदूतमा अनुमोदन भएका हुन् । संसदीय सुनुवाइ समितिले शनिबार छुट्टाछुट्टै सुनुवाइ गरेलगत्तै अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सुनुवाइका दौरान प्रस्तावित राजदूतहरुले सम्बन्धित मुलुकहरुसँग द्विपक्षीय सम्बन्ध मजबुत बनाउने, विदेशी लगानी भित्र्याउने, पर्यटक भित्र्याउन पहल गर्ने तथा उच्चस्तरीय भ्रमण गराउन पहल गर्नेलगायत विषयमा आफूहरुले प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए ।

समितिले यसअघि बिहीबार प्रस्तावित राजदूतहरु साउदी अरेबियाका लागि नवराज सुवेदी, अस्ट्रेलियाका लागि कैलाशराज पोखरेल, कतारका लागि नरेशविक्रम ढकाल र दक्षिण कोरियाको लागि ज्योति प्याकुरेल (भण्डारी)लाई सुनुवाइ गर्दै अनुमोदन गरेको थियो ।

समितिले बुधबार मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल (स्पेन), डिल्लीराज पौडेल (मलेसिया) र कान्ता रिजाल (इजरायल)को अनुमोदन गरेको थियो । यस्तै, समितिले मंगलबार चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङलाई पनि अनुमोदन गरिसकेको छ ।

शुक्रबारको सुनुवाइमा भने श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्राध्यापक रामस्वार्थ रायविरुद्ध उजुरी परेको र सुनुवाइको क्रममा चित्तबुझ्दो जवाफ नआएपछि परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जेठ ९ भित्र जवाफ पठाउने गरी पत्राचार गरेको छ ।

प्रस्तावित राजदूतलाई संसदीय समितिले अनुमोदन गरेपछि उनीहरुको अग्रिमो (स्वीकृति)का लागि सम्बन्धित मुलुकमा पठाइन्छ । सम्बन्धित मुलुकले स्वीकृति दिएपछि कानुनअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्ति गर्नेछिन् ।

तपाईको प्रतिक्रिया