शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारी थालेको छ । जेठ १५ गते ल्याउने बजेटका लागि मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग सुझाव संकलन गरिरहेको छ । मन्त्रालयले चैत १ गतेदेखि नै उद्यागी, व्यवसायीसँगै सरोकारवाला निकायसँग बजेटका लागि सुझाव संकलन थालेको छ ।

मध्यमकालीन खर्च संरचनाअनुसार बजेटका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँ सिलिङ तोकिएको छ । मस्यौदा लेखन समितिले दिएको खर्च संरचनाअनुसार नै बजेट निर्माण भरिहेको अर्थ मन्त्रालयले बताएको छ । मस्यौदा लेखन समितिमा संयोजक भुपाल बरालसहित पाँच जना सदस्य छन् । अर्थ मन्त्रालयले चैत २ गते उक्त समिति बनाएको थियो ।

विभिन्न संघसंस्था, अर्थविद्, बिमा क्षेत्र, बैंक, कृषि, भौतिक पूर्वाधार, खेलकुद, महिलालगायतको सुझावका आधारमा बजेट निर्माण भइरहेको जनाइएको छ । बजेट निर्माणमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख चक्रबहादुर बुढा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश आचार्य, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख ईश्वरी अर्याल र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी सक्रिय छन् । बजेट निर्माणमा राष्ट्रिय योजना आयोगलगातले पनि सहयोग गर्नेछन् ।

चालु आर्थिक वर्षका लागि सरकारले १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

सरकारले यसपालि लोकप्रिय बजेटको तयारी गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार कर्मचारीको दुई हजारसम्म तलब बढ्नेछ ।

तपाईको प्रतिक्रिया