सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौँ – राष्ट्रिय गौरवको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ९३ प्रतिशत पूरा भएको छ। वैशाखभित्र यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) गर्ने योजनाअनुसार काम भइरहेको विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए। उनका अनुसार डेकोरेसन, फिनिसिङलगायतका केही काम बाँकी छन्। रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर यसअघि नै निर्माण भइसकेका छन्। टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने एउटा विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) जडान भइसकेको छ। अर्को जडान भइरहेको छ। यस्तो खाले ब्रिज नेपालमै पहिलो पटक यहाँ जडान गरिएको हो। बाँकी काम पनि द्रुतगतिमा भइरहेको आयोजनाले जनाएको छ।

कोरोना संक्रमणका कारण विमानस्थल निर्माणको समय एक वर्ष थपिएको थियो। जसअनुसार असार मसान्तभित्र सक्नुपर्ने समयसीमा छ। तर, अधिकांश काम सकिए पनि आन्तरिक समस्या समाधानका काम अझै हुन भने सकेको छैन। विमानस्थल सञ्चालन अघि नजिकै पूर्वतर्फ रहेको रिठ्ठेपानी डाँडा कटान गर्नुपर्नेछ। अन्तर्राष्ट्रिय जहाज उडान र अवतरणका लागि यो डाँडा बाधक बन्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यसका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन भइरहेको छ। निजीतर्फको डाँडा भने कटान भइरहेको छ। अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि यो डाँडा ४० मिटरसम्म कटान गर्नुपर्छ। अझै सरकारी वनतर्फको रुख कटानका लागि बाटो नखुलेको आयोजना प्रमुख मुनंकर्मी बताउँछन्।

तपाईको प्रतिक्रिया