सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडाैं – युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शनिवार सबेरै निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भएका खबर बीबीसी युक्रेनले स्थानीय अधिकारीलाई उल्लेख गर्दै लेखेको छ ।

राष्ट्रपति जेलेन्स्कीका पूर्व सल्लाहकार रहेका सबभन्दा कान्छा सांसद स्भियातोस्लाभ युराले किएभ शहरमा रुसी प्रतिरोध गर्ने तयारी भइरहेको बताएका छन् । किएभमा स्वयंसेवीहरूको सुरक्षा दस्तालाई सहयोग गरिरहेका उनले बीबीसी रेडियो फोरको टुडे कार्यक्रमसँग बोल्दै राजधानी किएभमा रातभर रुसी रकेट प्रहार भएको र बाहिरी क्षेत्रमा युद्ध भइरहेको बताए ।

यदि रुसी फौज शहर भित्र छिर्‍यो भने ठूलो क्षति बेहोर्न रुस तयार रहनुपर्ने चेतावनी उनले दिए । ‘यो दशौँ लाख मान्छे बस्ने शहर हो यदि उनीहरू भित्र छिरे भने उनीहरूले ठूलो प्रतिरोधको सामना गर्नुपर्नेछ । त्यसो भयो भने त्यो उनीहरूको स्टालिनग्र्याड हुनेछ ।’ उनले दोस्रो विश्वयुद्धको त्यो क्षणबारे स्मरण गराउँदै थिए जसमा ११ लाख सोभियत सेना र ८ लाख जर्मन तथा रोमानियाको सेनाको मृत्यु भएको थियो ।

त्यो १९४२-४३ मा भएको युद्धको त्यस्तो क्षण थियो जहाँबाट रुसतर्फ बढिरहेका नात्सीहरू रोकिनुपरेको थियो । उनले भने, म तपाईँलाई ग्यारेन्टी गर्न सक्छु कसैले पनि आत्मसमर्पण गर्ने छैन ।’

तपाईको प्रतिक्रिया