सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडाैं – युक्रेनसँग युद्ध भएको १६ औं दिनमा आइपुग्दा रुसले हमलालाई तीव्र बनाउँदै लगेको छ । गत मंगलबार एक दिनका लागि युद्धविराम गरेको रुसले पुनः आक्रमण तीव्र पारेको हो । रुसी हवाई हमलामा युक्रेनको ऐतिहासिक रंगशाला ध्वस्त भएको छ ।

पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको नाममा स्थापित उक्त रङ्गशाला शुक्रबार बिहान रुसले गरेको हवाई हमलामा ध्वस्त भएको हो । सोही हमलामा एक जनाको मृत्यु भएको छ । युक्रेनको प्रसिद्ध लाइब्रेरी पनि ध्वस्त भएको छ । युक्रेनका महत्त्वपूर्ण विमानस्थल लक्षित गरी बम विस्फोट गराइएको छ । युक्रेनको पश्चिमी क्षेत्रमा रहेको लुत्स्क विमानस्थलमा बम विस्फोट भएको हो । जसका कारण विमानस्थलका केही संरचनाहरू ध्वस्त भएका छन् ।

जारी युद्धका बिच युक्रेनका लाखौँ मानिस शरणार्थीको रूपमा अन्यत्र पलायन भइसकेका छन् । यता युक्रेनको चर्नीहीव शहरमा पानीको हाहाकार भएको छ । रुसी हमलाका कारण पानीको मुहान ध्वस्त भएकाले हजारौँ जनता पानी खानबाट वञ्चित भएका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र रुसका राष्ट्रपतिविरुद्ध सामाजिक सञ्जालमा खुलेर आलोचना र विरोध गर्न युक्रेनी जनतालाई अपिल गरेका छन् ।

रुसले युक्रेनका थप तीन वटा शहरमा आक्रमण गरेको छ । यसअघि आक्रमण नभएको लुट्स, नीप्रो र इभानो-फ्रान्किभिस्कमा रुसी फौजले आक्रमण शुरु गरेको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यी फरक दिशामा रहेका शहरहरूमा रुसी फौजले गए राति एकै पटक आक्रमण गरेको हो । रुसी सेनाले ती शहरहरूमा विमानस्थल, लडाकु विमान मर्मत केन्द्र लगायतलाई लक्षित गरी विस्फोट गराएका हुन् । यस्तै रुसी सेना राजधानी किएभमा केन्द्रित हुन थालेका छन् । किएभबाट पाँच किलोमिटर नजिकै रुसी सेनाले घेरा हालिरहेका युक्रेनको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसैबीच रुसको आग्रहमा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्का कूटनीतिज्ञहरूको बैठक आज बस्दैछ । रुसले अमेरिकामाथि युक्रेनमा जैविक अस्त्र निर्माणमा सहायता गरिरहेको आरोप लगाउँदै त्यसबारे छलफल गर्न सुरक्षा परिषद्को बैठक माग गरेको हो । अमेरिकाले रुसी आरोपलाई आधारहीन भन्दै खण्डन गरेको छ ।

तपाईको प्रतिक्रिया