बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – म्यानमारमा सत्ता कब्जा लिएको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध निर्वाचनमा धाँधली गरी जितेको भन्दै अर्को मुद्दा दर्ता गरेको छ । म्यानमारको सेनाले ‘कू’ गरेको एक वर्षपछि सुकीविरुद्ध नयाँ मुद्दा दर्ता गरेको हो ।

मुलुकको निर्वाचन आयोगलाई प्रभावमा पारी सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै उनीविरुद्ध मुद्दा दर्ता गरिएको स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । सुकीविरुद्ध दर्ता गरिएको नयाँ मुद्दा ६ महिनाभित्र छिनोफानो हुने समेत जनाइएको छ । उनीसँगै पूर्व राष्ट्रपति एवं नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का प्रभावशाली नेता विङ मिङ्टविरुद्ध समेत निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको छ ।

यसबाहेक, सेनाले ‘कू’ यता निर्वाचन आयोगका कैयौं वरिष्ठ सदस्यलाई एनएलडीलाई भारी बहुमतसहित जिताउन सघाएको भन्दै पक्राउ गरिसकेको छ । सेनाले गत वर्षको जुलाइमा धाँधलीका १ करोड भन्दा बढी घटना भएको भन्दै २०२० को निर्वाचन परिणाम रद्द गरेको थियो ।

गत वर्षको फेब्रुअरी १ गते भएको सैनिक ‘कू’पछि म्यानमारमा व्यापक विरोध प्रदर्शन भएको थियो । सेनाले निर्मम दमन गरेको उक्त प्रदर्शनका क्रममा झण्डै १५ सय सर्वसाधारणको ज्यान गएको बताइन्छ । सेनाले हाल हिरासतमा रहेकी सुकीमाथि विभिन्न आरोपमा मुद्दा दर्ता गरिसकेको छ । यदि उनी सबै आरोपमा दोषी ठहर भए १०० वर्षभन्दा बढी जेल जसाय हुन सक्ने समाचारमा उल्लेख छ ।

यसअघि उनलाई अवैध रुपमा वाकीटकी प्रयोग गरेको, सेनाविरुद्ध प्रदर्शन भड्काएको र कोभिड-१९ सम्बन्धी नियम पालना नगरेको मुद्दामा ६ वर्ष जेल सजाय सुनाइसकिएको छ ।

तपाईको प्रतिक्रिया