सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडाैं – अमेरिकाका एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो ।

आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति अमेरिकी पुरुष भएका छन् । चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि ५७ वर्षीय डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको बीबीसीले उल्लेख गरेकाे छ ।

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो । प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको छ र यसले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्छ ।

शल्यचिकित्सक बार्ट्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई ‘अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने’ बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ । OrganDonor.gov का अनुसार सङ्कटको अर्थ अहिले अमेरिकामा दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको ज्यान गइरहेको छ ।

त्यसमा एक लाखभन्दा बढी मानिसहरू पर्खाइको सूचीमा रहेको बताइएको छ । माग पूरा गर्न जनावरको अङ्ग प्रयोगको सम्भावनाबारे लामो समयदेखि विचार गरिँदै आएको हो र सुँगुरको मुटुको भल्भ प्रयोग गर्ने विषय सामान्य भइसकेको छ । सन् २०२१ को अक्टोबरमा न्यू योर्कस्थित शल्यचिकित्सकहरूले मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको घोषणा गरेका थिए ।

त्यतिबेला उक्त शल्यक्रिया सबैभन्दा विकसित प्रयोग थियो । यद्यपि, त्यसबेला प्रत्यारोपण गरिएका व्यक्तिको मस्तिष्क मृत थियो र निको हुने कुनै आशा थिएन । अहिले मुटु प्रत्यारोपण गरिएका बेनेट भने आफू बाँचिरहन सक्ने आशा व्यक्त गर्छन् ।

तपाईको प्रतिक्रिया