आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – प्रतिरोधी क्षमता कमजोर भएका नागरिकमा कोभिडविरुद्धको ‘थप डोज’ लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै तत्कालका लागि थप डोज लगाउने खोप कार्यक्रम स्थगित गरेको जानकारी गराएको हो ।

मन्त्रालयले सबै नागरिकलाई खोपको पूरा मात्रा आवश्यक रहेको जनाउँदै यस विषयमा प्राविधिक छलफल गरी आगामी माघबाट तयारी गरिने स्पष्ट पारेको छ । प्रतिरोधी क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी संक्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिइने तयारी थियो ।

प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिमा प्रयोग भइरहेको ‘थप डोज’मा अधिकांश देशले ‘मिक्स एन्ड म्याच’ डोज प्रयोगमा ल्याइरहेका छन् । दुईवटा भ्याक्सिन मिसाएर दिइरहेको थप डोजले प्रतिरोधी क्षमतामा उल्लेख्य वृद्धि ल्याएको पाइएपछि मिक्स एन्ड म्याचको थप डोज प्रयोगमा ल्याउन विश्व स्वास्थ्य संगठनले स्वीकृतिसमेत दिइसकेको छ । तर, नेपालमा मंगलबारबाट प्रयोगमा ल्याइने भनिएको थप डोजमा भने सोही खोप प्रयोग गरिने बताइएको थियो ।

तपाईको प्रतिक्रिया