शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – चीनको एउटा कारागारबाट भागेका एक उत्तर कोरियाली नागरिक ४० दिनपछि पक्राउ परेका छन् । चिनियाँ प्रहरीले जारी गरेको एउटा सङ्क्षिप्त विज्ञप्तिमा चिनियाँ नाम जू श्यान्जिएन उल्लेख गरिएका ती ३९ वर्षीय पुरुष आइतवार पक्राउ परेका जनाइएको छ ।

उनी सन् २०१३ मा उत्तर कोरियाबाट भागेर चीन गएका थिए । उनलाई अवैधानिक रूपमा चीन प्रवेश गरेको र चोरी तथा लुटपाट गरेको अभियोगमा एउटा अदालतले दोषी ठहर गरेको थियो । जिलिनस्थित एउटा जेलबाट भागेपछि उनलाई पक्राउ गर्न सूचना उपलब्ध गराउने व्यक्तिलाई ठूलो पुरस्कार दिने घोषणा गरिएको थियो ।

सरकारले सञ्चालन गरेको बेङ्जिङ न्यूजले सार्वजनिक गरेको फुटेजमा अक्टोबर १९ को राति उनी जेलको छतमा गएको र उफ्रेर विद्युतीय बार नाघेको देख्न सकिन्छ । भिडिओमा जेलका सुरक्षार्थ खटिएका अधिकारीहरूले उनलाई पछ्याउन खोजेको देख्न सकिन्छ। उनको खोजी चिनियाँ सामाजिक सञ्जालमा व्यापक चासोको विषय बनेको थियो ।

सरकारी निकायहरूले ती भागेका व्यक्तिसम्म पुग्न सकिने सूचना दिनेका लागि पुरस्कार राशि बढाएर १,०९,००० अमेरिकी डलर दिने घोषणा गरेका थिए । जूलाई सुरुमा गैरकानुनी रूपमा चीनमा प्रवेश गरेको र उत्तर कोरियाबाट भागेपछि चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा जेल सजाय गरिएको थियो ।

अदालतको दस्ताबेजअनुसार सन् २०१३ मा उनी उत्तर कोरिया र चीनलाई छुट्ट्याउने नदी तरेका थिए र नजिकैका गाउँबाट पैसा, मोबाइल फोन र कपडा चोरेका थिए । उनलाई चिन्ने एक वृद्धालाई जूले चक्कु प्रहार गरेका थिए । प्रहरीले पक्राउ गर्नुअघि उनले ट्याक्सी चढेर भाग्ने प्रयत्न गरेका थिए ।

जूले नौ वर्ष लामो जेल सजाय काटिसकेका थिए। उनको सजाय पूरा हुन दुई वर्ष मात्र बाँकी थियो । जेल सजाय पूरा भएपछि उनलाई स्वदेश फिर्ता गराउने चीनको योजना छ । आफू उत्तर कोरिया फर्कनु नपरोस् भनेर उनी भागेको कतिपयको अनुमान छ । सन् १९५१ को शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय महासन्धिको एउटा पक्ष भए पनि चीनले उत्तर कोरियालीहरूलाई जबरजस्ती सुपुर्दगी गर्ने गरेको छ ।

महासन्धिले शरणार्थीहरूलाई दुःख वा यातना दिइने सम्भावना रहे उनीहरूलाई फिर्ता नपठाउन बाध्य पार्छ । चीनले देश छोड्नेहरूलाई शरणार्थी नभई अवैध आप्रवासीको रूपमा हेर्छ जसले त्यस्ता व्यक्तिहरूलाई अपराधीका रूपमा हेर्ने बाटो खुला गरिदिन्छ ।

तपाईको प्रतिक्रिया