शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – जापानले नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमायलशम्शेर जबराले ‘द अर्डर अफ राइजिङ सन’ अवार्ड प्रदान गरेको छ । काठमाडौंस्थित जापानी दूतावासले जनाएअनुसार ‘अटम इम्पेरियल डेकोरेसन’को सूचीमा सो अवार्ड प्राप्त गर्ने विदेशी नागरिकहरुमध्ये राणा रहेका छन् ।

जापानले दुवै देशबीच आर्थिक सम्बन्ध सुरुवात गर्न राणाले खेलेको भूमिकाका लागि सो अवार्ड प्रदान गरिएको जनाएको छ । राणाले जापान भ्रमण गरेर दोस्रो विश्वयुद्ध विध्वंशपछि जापानले आर्थिक उन्नति गरेको देखेपछि दुवै देशबीच आर्थिक सम्बन्ध सुरुवात गरेका थिए ।

सन् १९६० को दशकमै राणाले बैंक अफ जापानमा खाता खोल्नका लागि राष्ट्र बैंकको बोर्डलाई मनाउन सफल भएका थिए । त्यही कदमले दुवै देशबीच आर्थिक सम्बन्धलाई सक्रिय बनाएको विश्वास गरिन्छ । ‘बैंक अफ जापानमा खाता खोल्ने पहिलो विदेशी केन्द्रीय बैठक नेपाल राष्ट्र बैंक हो,’ दूतावासले भनेको छ । जापानले प्रत्येक वर्गको अप्रिल २९ र नोभेम्बर ३ का दिन विदेशी नागरिकलाई अवार्ड प्रदान गर्ने गर्छ ।

यो अवार्ड जापानसँग सम्बन्ध प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने विदेशी नागरिकलाई प्रदान गर्ने गरिन्छ । यो राजनीति र कूटनीति, अनुसन्धान तथा शिक्षा, जनस्वास्थ्य तथा सामाजिक कल्याण, आर्थिक तथा उद्योग र संस्कृति तथा खेलकुद योगदान गर्नेलाई अवार्ड प्रदान गर्ने गरिन्छ ।

यसअघि गत वर्ष जापानले सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ‘ग्रान्ड कडन अफ दि अर्डर अफ दि राइजिङ सन’ विभूषण प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया