काठमाडौँ – आइसिसी टि-२० विश्वकप सुपर १२ अन्तर्गत आइतबार समूह ‘२’का २ खेल हुँदैछन् । आज हुने पहिलो खेलमा अफगानिस्तान र नामिबिया प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुनेछ । एक अर्काविरुद्ध मैदान उत्रिँदा दुवै टोलीको लक्ष्य जित दोस्रो निकाल्नु हुनेछ । पहिलो खेलमा स्कटल्यान्डलाई १३० रनले पराजित गरेको अफगानिस्तान दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले हारेको थियो ।
नामिबियाले पहिलो खेलमा स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो । यी दुई पहिलोपटक टि-२० विश्वकपमा एक अर्काको सामना गर्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति पौने आठ बजे हुने दाेस्राे खेलमा भारतले न्युजिल्यान्डको सामना गर्नेछ । एक अर्काविरुद्ध मैदान उत्रिँदा दुवै टोली पहिलो जित निकाल्ने दाउमा हुनेछन् । भारत र न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग क्रमश १० र ५ विकेटको पराजय बेहोरेका थिए ।
टि-२० विश्वकपमा यी दुईले २ खेलमा एक अर्काको सामना गर्दा दुवै खेल न्युजिल्यान्डले आफ्नो पक्षमा पारेको छ । उ सन् २००७ मा १० तथा २०१६ मा ४७ रनले विजयी भएको थियो ।