आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौँ – युएईमा जारी टी–२० विश्वकेप क्रिकेटमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ। बिहीबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियाले १५५ रनको विजय लक्ष्य पाएको थियो। सो लक्ष्य पछ्याएको उसले १७ ओभरमा ३ विकेट गुमाउँदै भेट्टयो। अस्ट्रेलियाका लागि डेभिड वार्नरले ६५ रन बनाए। त्यस्तै कप्तान आरोन फिन्चले ३७ रनको योगदान गरे। श्रीलंकाका लागि वानिन्दु हसरङ्गा डे सिल्भाले २ तथा डासुन सानाकाले १ विकेट लिए।

यसअघि ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमार १५४ रन बनाएको थियो। उसका लागि कुसल परेरा र चरिथ असलंकाले समान ३५÷३५ रन बनाए भने भानुका राजपाक्षले अविजित ३३ रन जोडे। अस्ट्रेलियाका लागि आडम जाम्पाले २ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै मात्र १२ रन खर्चिएर २ विकेट लिएका हुन्। त्यस्तै मिचेल स्टार्क र प्याट क्युमिङले पनि समान २÷२ विकेट लिए।

यो खेलसँगै सुपर १२ अन्तर्गत पहिलो समूहमा रहेका सबै टोलीले २÷२ खेल खेलिसकेका छन्। जसमा इङ्ग्ल्यान्ड र अस्ट्रेलियाले शतप्रतिशत नतिजा निकाल्दै क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन्। त्यस्तै दक्षिण अफ्रिका र श्रीलंकाले एकमा जित र अर्कोमा हार व्यहोर्दै तेस्रो र चौँथो स्थानमा छन् भने बंगलादेश र वेस्ट इन्डिजले जित निकाल्न सकेका छैनन्। वेस्ट इन्डिज टी–२० विश्वकपको साविक विजेता हो।

तपाईको प्रतिक्रिया