शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विदेशबाट पाएको उपहार बेचेको घटना सार्वजनिक भएपछि हंगामा भएको छ ।

खाडी मुलुकका एक राजकुमारले इमरानलाई १० लाख डलर पर्ने घडी उपहार दिएका थिए । त्यसलाई उनले गोप्य रूपमा बेचेपछि विपक्षी दलहरूले उनको कठोर आलोचना गरेका छन् । प्रधानमन्त्रीले विदेशी उपहार बेचेर सरकारी कोषमा घात गरेको आरोप विपक्षीहरूले लगाएका छन् ।

विदेश भ्रमणमा राष्ट्रप्रमुख तथा संवैधानिक पदमा रहेका अधिकारीहरूबीच उपहार आदानप्रदान हुने गरेको छ । त्यसरी पाएको उपहार सरकारी कोषमा रहिरहन्छ । सरकारले चाहेमा पछि त्यसलाई लिलाम बिक्री गर्न सक्छ ।

पूर्व प्रधानमन्त्री नवाज शरीफकी छोरी तथा पीएमएल–एनकी उपाध्यक्ष मरियम नवाजले ट्वीट गरी लेखिन्, ‘इमरान खानले अन्य देशबाट प्राप्त उपहार बेचेका छन् । खानले सरकारी कोषबाट विदेशी उपहार लुटे । कुनै व्यक्ति यति असंवेदनशील, बहिरो, लाटो र अन्धो कसरी हुन सक्छ ?’

विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टका अध्यक्ष फजलुर रहमानले राजकुमारबाट प्राप्त महंगो घडी प्रधानमन्त्री खानले बेचेको खबर पाएको र यो लज्जास्पद भएको बताए ।

तपाईको प्रतिक्रिया