शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाण्डाै – गएको चार दिनमा बाढी, पहिरो र डुबानमा परेर ८२ जनाको ज्यान गएको पुष्टि भएको छ । गृह मन्त्रालयले ८२ जनाको ज्यान गएको पुष्टि गरेको हो ।

सबैभन्दा धेरै पाँचथरमा २७ जनाको ज्यान गएको छ । यस्तै, इलाममा १३, डोटीमा १२, धनकुटामा सात, हुम्लामा ६, सुनसरीमा ५, बैतडीमा चार, प्युठान, बझाङ र उदयपुरमा दुई/दुई जनाको ज्यान गएको छ । सोलुखुम्बु, मोरङ, डडेल्धुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको छ ।

बाढी पहिरोमा अझै २६ जना हराइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै बझाङमा २१ जना बेपत्ता छन्  । उनीहरुको खोजी भइरहेको छ । यस्तै, बाढी पहिरोबाट ३० वटा घर पूर्ण रुपमा भत्किएका छन्  । सरकारी संरचनामा भएका क्षतिबारे भने तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । बाढी, पहिरो र डुबानबाट १९ जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन् ।

पाँचथर, इलाम, डोटी, धनकुटा, हुम्ला, जुम्ला, सुनसरी, बैतडी, कालीकोट, कञ्चनपुर, बर्दिया, कैलाली, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत, बझाङ, मोरङ, डडेलधुरा प्रभावित भएका छन् । यस्तै, बाढी पहिरोका कारण ठाउँ-ठाउँमा पर्यटकहरु अलपत्र परेका छन् ।

उनीहरुको नेपाली सेनाले उद्धार गरिरहेको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । खबर आउनासाथ हेलिकप्टर उद्धारमा खटिने विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताउनुभयो । उहाँले कुनै समस्या परे गृह मन्त्रालयको ९८५११४०००५ नम्बरमा फोन गर्न पनि आग्रह गर्नु भएको छ।

तपाईको प्रतिक्रिया