शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पछिल्लो समय चर्चामा रहे । पार्टीको निर्देशन विपरित तत्कालिन मुख्यमन्त्रीमाथि पृथ्वी सुब्बा गुरुङको पक्षमा उभिएपछि उनलाई पार्टीले कारबाही गर्‍याे । सर्वाेच्च अदालत गुहारेका उनको पद थमौतीपनि भयो तर, उनी दोस्रोपटक कारबाहीमा परे । थापाले फेरि रिट निवेदन दिए र अहिले सर्वोच्च सुनुवाइ भइरहेको छ । उनी आफूलाई प्रक्रिया मिचेर बेइमानीपूर्वक पदमुक्त गरेको बताउँदै आएका छन् । बाग्लुङको जैमिनि नगरपालिका सर्कुवामा जन्मिएका थापाले आफूले निष्ठाको राजनीति गरेको जिकिर गर्दै आएको छन् । प्रस्तृत छ, उनै थापासँग पार्टीमा उहाँको संघर्ष र पछिल्लो राजनीतिक घटनाक्रमबारे सागर कुँवरले गरेको कुराकानीको सम्पादित अंशः-

तपाईं अहिले आफ्नै पार्टीको निर्णयविरुद्ध मुद्धा लडिरहनुभएको छ किन ?
जीवनमा हरेक प्रकारका संघर्ष र अप्ठेरो भोगियो । हारजित धेरै भएका छन् । अन्त्यमा सत्य र न्यायको जित हुन्छ । संसदीय गतिविधिमा पद खारेज सम्बन्धमा म अहिले सर्वोच्चमा मुद्धा लडिरेको छु । जालझेल, षड्यन्त्र पार्टीबाट हुँदा अप्रत्यक्ष रुपमा तितो र नरमाइलो लागेको छ । पार्टीबाट जालझेल षड्यन्त्र, किर्तेकाम हुन्न भन्ने मेरो पूर्ण विश्वास थियो तर भयो । पार्टीले घृणित चरित्र देखायो । जीवनमा सबैभन्दा नमिठो महसुुस गरेको छु ।

पार्टीको निर्णय विपरित तपाईं विपक्षी गठबन्धनविरुछ उभिनुभयो । आखिरमा किन काँग्रेससँग यति धेरै आक्रोश ?
पार्टीको राजनीतिक प्रतिवेदनको मूल्यांकनले नेपाली कांग्रेसलाई प्रमुख दुष्मन शक्ति भनेर मूल्याकंकन गरेको छ । अर्कोतिर नेका सरकारमा हुँदा राष्ट्रघात जनघात, झुट्टा मुद्धा सृजनागरी जनतालाई दुःख दिने र देशलाई भ्रष्टिकरण गराएको छ । अहिले आएर उनै शक्तिसँग सम्झौता गर्नुपर्ने अवस्था सृजना भयो । मैले जनताको मतलाई घात गर्न सकिन कारण यहि हो ।

तपाईंको राजनीतिक यात्राको बारेमा बताइदिनुहोस् न ?
२०३५/२०३६ सालदेखि आजसम्म पञ्चायती व्यवस्था, प्रतिगमन, पटकपटकका काँग्रेसी सरकार, जनआन्दोल लगायतका प्रत्यक्ष संघर्षका अनुभव छन् । व्यक्तिगत सुविधा त्यागेर भूमिगत जीवन, यातना, जेल बसाई, संगठनमा पूरा गरेका काम, (उत्पादन तथा वर्षौं पार्टीको श्रम सिविरमा गरिएका) नै मेरा जीवन कथा हुन । मैले भन्दा नि यसको मूल्याकंन तपाईंहरू र जगतले गर्ने कुरा पनि हो ।

मोहनबिक्रम सिंहलाई सधैं कोठामा बसेर राजनीतिक निर्णय गर्नुहुन्छ, जनभावनाको कदर गर्न सक्नुहुन्न, साँगुरो सोच राख्नु हुन्छ भनिन्छ । अहिलेको गण्डकी प्रदेश सरकार र तपाईसँगको विवादले त्यो कुरालाई झन प्रमाणित गरेन र ?
पार्टीले निर्णय गर्दा त कोठा, मिटिङहरुमा बसेरै गर्ने हो । अहिले मसँग जोडिएको सन्दर्भ हेर्दा आग्रह पूर्वाग्रहको स्थिति षडयन्त्रबाट निर्णय भएकै छ । जहाँसम्म मतभेदलाई समाधान गर्ने सन्दर्भमा तथ्यभन्दा पनि उपरी प्रकारको छ, न्याय दिने सन्दर्भमा पक्षपातपूर्ण भएकै देखिन्छन् ।

तपाईंको विवाद खाली काँग्रेस सरकारको विरोध मात्र हो कि पार्टीसँग कुनै राजनीतिक वैैचारिक मतभिन्नता पनि हो ?
अहिले मसँग भएको मतभेद दुई प्रकारका छन् । पहिलो, पार्टीलाईन विपरित किन गइयो ? जसमा कांग्रेसलाई किन सत्तामा पुरÞ्याउने भन्ने हो । भने अर्कोतिर पार्टीका निर्णय अत्यान्तै साँगुरो घेराबाट किन गरिन्छ भन्ने दोस्रो हो ।

अहिलेको अवस्थाामा बाहिरबाट हेर्दा नेकपा मसाल त तिनचिरा परेको देखियो नी, यसमा तपाईं के भन्नु हुन्छ ?
पार्टी भनेकै विभिन्न विचारबाट विषेश गरेर नेपालको सन्दर्भमा किसानबाट आएका नेताहरूको पार्टी हो । पार्टीमा मतभेद एकता हुन्छ तर, कित्ता लाएर तिनलाई पन्छाउन हुँदैन ।अल्पमत पक्षको आगो भित्रभित्रै दन्किरहेछ भनिन्छ, अल्पमत पक्षको राजनीतिक ग्राउण्डलाई कसरी हेरिरहनु भएको छ ?
पार्टीको आठौं महाधिवेशनमा पहिला विशेषत दुई प्रकारका विचार आएको हो । महाधिवेशनले टुँङ्गो लगाएपछि छुट्टै मतभेद कायम राखेर जानुपर्छ भनिरहन हुँदैन । आफ्नो मत सुरक्षित राख्ने भन्ने कुरा हुन्छ नै । महाधिवेशन पनि छुट्टै प्रकारको प्रतिकृया पार्टीमा छ । संगठनमा काम गर्ने सन्दर्भमा धेरै जसो अल्पमतका साथीहरु पार्टीबाट निष्काशनमा परेका छन् । पार्टीलाई मृत्युभन्दा प्यारो मान्दामान्दै पनि निष्काशनमा पर्नु, विचारका आधारमा कित्ता कायम भएका घटना धेरै रह्यो । यसो गर्नु हुँदैन । यसले पार्टीलाई ठूलो क्षति हुन्छ ।

तपाईंको भावी बटमलाईन अब के हुन्छ ?
म नेकपा मसाल र राष्ट्रिय जनमोर्चाको राजनीतिक लाईनमा नै आवद्ध छु । अन्य पार्टीमा जाने भन्ने म कल्पना पनि गर्न सक्दिन । किनकि उनीहरुको राजनीतिक सिद्धान्तसँग म जानकार छु । म माथी भ्रामक पूर्वआग्रह, किर्ते, षडयन्त्र, पक्षपात भएमा म त्यसको स्वाभिमानीका साथ विरोध गरिदिन्छु । मेरो भूमिका पहिला जस्तो थियो अहिले पनि उस्तै हुन्छ ।

पार्टी र क्रान्तिको भविष्यका बारेमा के भन्नु हुन्छ ?
पार्टीले लिएको सिद्धान्त कार्यन्वयनका लागि अब पनि बिरालो बाँधेर श्राद्ध गर्ने परपरावादी शैली छाड्नुपर्छ त्यसको लागि नेतृत्वको कार्यशैली ८० प्रतिशत परिवर्तन गर्नुपर्छ । (आफुले नगर्ने आदेश दिने) वर्ग, भूगोल, जातिका समस्यालाई पहिचानका साथ विरोधिसँग टक्कर लिएर जनसंगठन, जनसंघर्ष, विकास, आत्मनिर्भरमुखी कार्यक्रममा सुधार गर्नपर्छ । उत्पादन नगर्ने, उही लेवि संकलन गर्ने, लेविबाट केहीले छोराछोरी बोर्डिङमा पढाउने शैली बदल्नु पर्छ । यो जमाना २१औं शताब्दीको हो त्यसै अनुसार कार्यक्रम तय हुनुपर्छ । सर्वहारा वर्गीय आन्दोलन नेपाली जनताको लागि अपरिहार्य छ । यो ७० प्रतिशत कम्युनिष्ट भएको देश हो । कम्युनिष्ट पार्टीको भविष्य उच्च छ । नेपालका जुन कम्युनिस्ट नामका पार्टीहरु छन् तिनीहरुप्रति नेपाली जनताको यो वा त्यो प्रकारले घृणा बढि रहेको छ । त्यसको मूलकारण राजनीतिक स्पष्टता नहुन, आपसमा द्वन्द्व, प्रतिशोेध छ, टुटफुट र अनेकता भैरहेको छ । पार्टीहरु भ्रष्टिकरण भएका छन् । त्यसैले यो स्थिति कायम रहने हो भने लामो समयसम्म निस्वार्थ भावनाबाट प्रेरित पार्टी सदस्यलाई पनि म कम्युनिष्ट पार्टीको सदस्य हुँ भन्न पनि लाजमर्दोे स्थिति हुनेछ । समाजमा फरक केहीस्थिति नहुँदा हामी उस्तै देखिन सक्छौं । नेकपा मसाल फरक धार बोकेको पार्टी हो तर पनि पछिल्ला दिनमा अन्य पार्टीको पछिलाग्नु बन्ने क्रान्तिकारी वैचारिक भावना भुत्तेहुने त हैन भन्ने चिन्ता र चासो बढेको छ । यस्तो हुन नदिन र गरिब जनताको सक्षम नेतृत्व दिन हरदम कान्तिकारीहरुले एकतावद्धताका साथ अगाडि बढ्नुपर्छ र जनताको मुक्तिकामी संघर्षलाई स्थापित गर्ने बारेमा बढि ध्यान दिनुपर्छ ।

आजको वर्तमान राजनीतिक प्रधान अन्तर विरोधबारे तपाईंको राय के हो ?
सर्वहारा वर्ग र दलाल पुँजीपति वर्ग तथा सामन्त वर्ग बीचको अन्तरबिरोध नै अहिलेको प्रधान अनतरविरोध हो ।

तपाईंको पार्टीले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख कार्यक्रममा विश्वास गर्छ । शान्तिपूर्ण तवरले पनि समाजवादमा पुग्न सकिन्छ र जनताको जनवादी अधिनायकत्व आवश्यक छैन भनेर आठौं महाधिवेशनका दस्तावेजमा ल्याएको छ, यसमा तपाईको मत प्रष्ट पारिदिनुहोस् न ?
हाम्रो पार्टीको महाधिवेशनको राजनीतिक लाइनले तपाईले भने जस्तो मूल्याकंन गरेको छैन । संविधानमा समाजवाद उन्मुख समाजको निर्माण गर्ने छ । जहाँसम्म हामीले समाजलाई समाजवाद हुँदै साम्यवादमा परिणत गर्नु आवश्यक छ । मलाई लाग्छ अहिले सत्तामा बस्ने शक्तिले त्यसलाई कार्यन्वयन गर्न सक्ने स्थिति सोचाइ नै छैन । किनकि तिनीहरु सत्ता संसद र बजेट परमपरावादी प्रकारले नै चलाउन चाहन्छन् । किनकि तिनीहरु पूर्ण कम्युनिष्ट नै हैनन् । काँग्रेसबाट त सामान्य प्रगतिशील कार्यक्रम आउँला भन्ने कल्पना पनि गर्न सकिंदैन । त्यसैले क्रान्तिको आधार निर्माण गर्न हामी यो भन्दा १०० गुणा स्थितिमा परिवर्तन ल्याउनुपर्छ । मजबुत सत्ता बनाउन सर्वहारा वर्गको अधिनायकत्व आवश्यक पर्दछ । अहिले जस्तै शोसक र शोषित एउटै खोरबाट विकास गर भन्ने कुरा पुँजीवादी अधिनायकत्व हो । हामी यही गोलचक्करमा छौं ।

काँग्रेस-एमालेको साँठगाँठमा तपाईंको पार्टी लागेको देखियो नि ?
संघर्षका, आन्दोलनका, सन्दर्भमा प्रमुख दुष्मन शक्तिकाविरुद्ध अन्य मिल्ने शक्तिसँग एकता गरेर जानुपर्दछ । त्यो कुरा राष्ट्रिय स्थिति धरापमा पर्दछ झन् गर्नुपर्दछ । देशमा ७० प्रतिशत कम्युनिष्टलाई समर्थन गर्ने जनमत छ । यस्तो अवस्था वामपन्थीको एकतालाई हामीले जोड गर्नुपर्दछ । कम्युनिष्टहरुमा एकता हैन फुटमात्र भएका छन् । यो हामी नेपाली सर्वहाराको लागि विडम्बना नै हो । विगतमा राजा, भारत, रुस, चीनका उदाहरण दिएर अहिले नेकाको अन्धभक्त र समर्थन गर्न हामी पुगेको अवस्था छ । यो क्रान्तिकारी पार्टीको लागि ठूलो क्षति र दुरभाग्य हो । यो हावा कसरी आयो मूल्यांकन अवश्य गर्नुपर्छ । आन्दोलनबाट हटेको राजतन्त्र फेरि पुनस्र्थापित हुन्छ भन्नेकुरामा हामीले कुनै कल्पना गर्न हुँदैन । आर्यघाटमा पुगेको राजतन्त्रले पनि म फेरि राज गर्न फर्किन्छु भन्नु कल्पना तथा दिवास्वप्ना मात्र गर्नु हो । त्यसकाविरुद्ध संघर्ष गर्न पुनः नेपाली जनता संचेत छन् ।तपाईंमाथी चित्रबहादुर केसी अलि बढी खनिएको देखियो किन ?
मलाई क. चित्रबहादुर केसीले तथा केही शक्तिले तपाईंले भने जस्तै आरोप लगाउनु भएको छ । (पैसा खाएको रअको ऐजेन्ट भएको, सेटिङ्ग पार्टीमा गएका जस्ता आरोपहरु छन्) जहाँसम्म त्यो भन्नु उहाँको अत्यान्तै पूर्वाग्रही, कुण्ठापूर्ण सोंचाई हो । जहाँ जे विषय हो त्यो मतभेद त्यहीबाट समधान हुनुपर्दछ । कुनै उपाय नलाएर गालीगलौज, चरित्रहत्याको बाटो खोज्नु बिडम्वना हो । यसले म कमजोर हुँदिन । उहाँको नै वदनाम भएको छ । म चुनौतीका साथ भन्छु, पैसाको नाममा सुको र राजनीतिक रुपमा पलायन भएको प्रमाणित गरे म फाँसीमा झुण्डिन तयार छु । यतिमात्र भन्न चाहन्छु । बरु उहाँ किन गलत प्रकारले आउनु भएको छ । शंका गर्ने प्रसस्त ठाउँ छ । कम्फटेवलको (गठबन्धन) ललिपपमा उहाँहरु पर्नु भएकै छ ।

तपाईंले चिनेका महान्त्री मोहनबिक्रम सिंह कस्तो हुनुहुन्छ ?
मैले चिनेका महामन्त्री मोहनबिक्रम सिंह अहिले पनि सम्मानित व्यत्तित्व नै हो । राजनीतिको अध्ययन विश्लेषण उहाँले गरेका धेरै जसो सहि छन् । उहाँको धेरै जसो टुटफुट, संघर्ष र आन्तरिक साथीहरुसँग राम्रो समन्वय गर्न नसकेर भएका छन् । अहिलेको अवस्थामा धेरै जसो उहाँलाई उहाँले विश्वास गरेका मान्छेको श्रोतलाई हुबहू विश्वास गर्दा धेरै जसो उहाँले धोका खानुभएको छ । पार्टीभित्र घुसपैठियाको समस्या पनि छ । राजनीतिक स्पष्टता मात्र भएर पुग्दैन संगठनात्मक अवस्था परिवर्तनको दिशामा उहाँको कम ध्यान नै छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सम्पूर्ण साथीहरु, जनतामा यति मात्र भन्न चाहान्छु कि पार्टी लाइनको संरक्षण मेरो प्रमुख कर्तव्य हो । मैले वामपन्थीहरुको सरकार बनाउनुपर्छ, नेकाको सरकार बनाउन हुन्न भन्ने नै हो । जहाँसम्म जनताले मलाई दिएको मत नि त्यही हो । म जनमतको सदर गर्छु तर, जनमतको अपहेलना गर्न सकिन । मेरो यत्ति मात्र भनाई छ । पद केही समयका लागि हुन्छ । इमानजमान त बाँचुञ्जेल र मरेपछि पनि हुनुपर्छ । म जनताको साथमा नै रहने छु ।

तपाईको प्रतिक्रिया