शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – पोर्चुगिज फुटबलर इडर फुटबल समर्थक माझ त्यति चर्चित नाम थिएन । तर, सन् २०१६ को युरो कप फाइनलपछि उनको चर्चा एकाएक चुलिन थाल्यो । त्यसको कारण हो, युरो कप फाइनलमा गरेको गोल ।

२०१६ युरो कप फाइनलमा आयोजक फ्रान्सलाई १-०ले हराउँदै पोर्चुगलले पहिलो अन्तर्राष्ट्रिय उपाधि उचाल्दा एक मात्र गोल तिनै इडरले गरेका थिए । पोर्चुगिज फुटबलको कुुरा गर्दा फ्रान्स विरुद्ध फाइनलको अतिरिक्त समयमा इडरले गरेको त्यो गोल सम्झनामा आउने गर्दछ ।

यतिबेला युरोकपको माहोल चलिरहेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार पोर्चुगलले फ्रान्सको सामना गर्दै छ । प्रतियोगितामा अन्तिम १६ मा स्थान बनाउन पोर्चुगलका लागि यो खेल फाइनल जत्तिकै महत्वपूर्ण छ । तर, यो खेलमा उसका लागि ५ वर्षअगाडिका नायक इडर भने हुने छैनन् ।

३३ वर्षीय फरवार्ड इडर अहिले अन्तर्राष्ट्रिय फुटबलमा गुमनामजस्तै बनेका छन् । पोर्चुगिज फुटबल इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरमा लेखाएका इडर अहिले कहाँ छन् भन्ने कौतुहलता जाग्नु सामान्य हो ।

कहाँ छन् इडर ?
पछिल्लो समय लयमा नदेखिएका इडरले युरो कपका लागि घोषणा भएको पोर्चुगिज टोलीमा स्थान बनाउन सकेनन् । इडर अहिले रसियन क्लब लोकोमोटिभ मस्कोबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।

उनले गत सिजनमा २८ खेल खेल्दा मात्र २ गोल गर्नुका साथै र १ गोलका लागि अवसर सिर्जना गर्न सकेका थिए । सन् २०१८ मा मस्को पुग्नुअघि उनले २ सिजन फ्रेन्च क्लब लिलीमा बिताएका थिए ।

तपाईको प्रतिक्रिया