शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

आज सिंगो म्याग्दी जिल्लाले शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका एक होनहार धरोधर गुमाएको छ । ’हुने हार, दैब नटार’ भनेको शायद यहि होला । आज मेरो मथिङ्गलमा अतितका पलहरु रिलझैं अटो-प्ले भईरहेका छन् । जति स्मरण गर्छु उति आँखामा ईन्द्रेणी लाग्ने गरेको अनुभूत हुन्छ । हो, आज म्याग्दीले एक स्थापित सामाजिक, वौद्धिक, साँस्कृतिक लगायत बहुआयामिक ब्यक्तित्वलाई सँधैका लागि गुमाएको छ ।

सन्दर्भ, हालै दिवंगत हुनुभएका पश्चिम म्याग्दी दरबाङस्थित जनप्रिय माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक बीरबहादुर कार्की सरको हो । सिंगो जीवननै निरन्तर शिक्षण पेशा अँगालेकै कारण कार्की सरको छत्रछाँयामा हजारौ-लाखौं विद्यार्थीहरु हुर्कियौं । जीवनका अनेकौं आरोह, अवरोह र उतार-चढावहरुका बावजुद पनि शिक्षाको ज्योति छर्ने कर्ममा अनवरत लाग्नुभएका हेडसरको योगदान म लगायत मजस्ता उहाँबाट दीक्षित विद्यार्थीहरु धेरैको मन-मुटुमा अमित छाप बनेर बसेको छ । त्यसैले जस्तो नाम काम पनि उहाँको बीर नै रहृयो । झट्ट हेर्दा कडा मिजासको लाग्ने तर अत्यन्तै सरल ब्यक्तित्वका धनी हेडसर उहाँ केवल गुरु मात्र नभएर प्रेरणाका स्रोत, कुशल मार्गदर्शक पनि हुनुहुन्थ्यो । स्कुलको अतिरिक्त क्रियाकलापहरुमा सहभागिताका लागि विद्यार्थीहरुलाई सँधैं प्रोत्साहित गर्नुहुन्थ्यो । उहाँकै हौसलाले मैले भलिबल खेल्न सिकेकी हुं। तत्कालीन रानीको जन्मोत्सवको अवसरमा जिल्लाब्यापी अन्तर माध्यामिक विद्यालय स्तरिय भलिवल प्रतियोगितामा दोश्रो हुने अवसर पनि पायौं । साहित्यप्रतिको रुची पनि उहाँकै प्रेरणाबाट बढेको हो । परिवार नियोजन बिषयक जिल्लाब्यापी लोकगीत प्रतियोगितामा प्रथम हुने सौभाग्य पनि उहाँकै प्रेरणाको उपज थियो । साँच्चिकै भन्नुपर्दा मेरो साहित्यिक यात्रा त्यहि बिन्दुबाटै सुरु भएको थियो । त्यसैले मप्रति हेडसरले लगाएको गुण कहिलै बिर्सने छैन । म मा भएको साहित्यिक लगायत अन्य अतिरिक्त प्रतिभाहरुलाई उजागर गराईदिने प्रथम प्रेरणाको स्रोत उहाँ नै हो । उहाँको छोरी बिजयासंग एउटै कक्षामा पढ्ने मिल्ने साथी भएकोले पनि उहाँ मेरो गुरु मात्रै नभएर अभिभावक पनि हुनुहुन्थ्यो ।

होचो कद र कालो बर्णको टम्म मिलेका सेता दाँत, सफाचट एवं टिपटप गेटअपमा हेडसरको ब्यक्तित्व हेडसर जस्तै झल्किन्थ्यो । मानौ भगवानले पनि उहाँलाई शिक्षण पेशा नै गर्नू भनेर बरदान दिएर यस धर्तीमा पठाएका होलान् जस्तो ।

बिसं २०४५ सालको कुरो हो जनप्रिय माद्यामिक विद्यालयको कार्यालयमा बसेर उहाँले टाइपराइटर मेशिनमा टाइप गरिरहेको देखेकी थिएँ । त्यसै पनि पहिलोचोटी मेशिनले अक्षर टाइप गरेको देख्दा म जस्तीलाई अचम्म लाग्नु स्वभाविकै थियो, त्यसमाथि आँखा एकातिर अरुसंग कुरो गर्दै, दुईहात टापराइटरमा मेशिनमा त्यति छिटो टाइप गरेको देख्दा मैले जिल खानु के नौलो कुरो भयो र ?

एउटा स्मरणीय घटना छ, हेडसरलाई पुदिना (एकप्रकारको साग) असाध्यै मनपर्थ्यो । उहाँले बेला बेलामा पुदिना टिपेर ल्याउन भन्नुहुन्थ्यो । यसरी पटक पटक टिपेर लैजानुभन्दा बरु पुदिनाको बोट नै लगेर रोपिदिने हो भने सँधैलाई होला भनेर उहाँको घर अगाडि रोपेर हेरेको निकै फैलिएको थियो । साथी बिजयाको लहैलहैमा लागेर धेरैचोटी उहाँको क्वाटरमा खाना पनि खाएकी छु ।एकदिनको कुरो हो, म र बिजया किचनमा काम गर्ने क्रममा मेरो हातबाट अचानक शिशाको गिलास खसेर फुट्यो । मलाई हेडसरको यति डर लाग्यो कि म्याडमको पनि उत्तिकै डर थियो नै । मैले सरी भन्न नपाउँदै हेडसरले मुसुक्क हाँस्दै त्यसलाई सहजरुपमा लिनुभयो भने म्याडमले पनि फुट्ने चीज हो फुटिहाल्छ नि भन्दै माफी दिनुभएको घटना कहिलै बिर्सन सक्दिन ।

तत्कालीन समयमा हाम्रो परिवार बसाई-सराई गरी पोखरा गईसकेको अवस्था थियो, मेरो पनि एसएलसी सकिदासाथ पोखरा जाने कुरो म्याडमलाई अवगत गराईसकेकी थिएँ । पोखरा आउने बेला हेडसरले अरु केहि भएन यहि कुकुरको छाउरो लैजा भनेर मलाई उपहार दिनुभयो । कालो रंगको मायालाग्दो भकुल्ले कुकुरको छाउरो उपहार पाएर म ज्यादै खुशी भएँ । म्याग्दीबाट बाटोभरि कुकुरको छाउरो भुकाउँदै-भुकाउँदै पोखरा ल्याईपुर्‍याएँ । छाउरो साह्रै क्युट थियो । नाम लाटा राखिदिएकी थिएँ । लाटा ! भनेर बोलाउँदा बुझ्ने भएको थियो । पोखरामा लाटा र मलाई मेरो परिवारले गरेको न्यानो स्वागतले खुशीको सिमा रहेन। छाउरो दिनप्रतिदिन ठूलो हुँदै गयो । उ साह्रै गुनी पनि थियो । ऊ परिवारका सदस्य र बाहिरका मान्छेहरुलाई छुट्याउने भईसकेको थियो । हाम्रो अनुमति बिनाउ उसले कोहि अपरिचित ब्यक्तिहरुलाई घरको गेटबाट भित्र पस्नै दिदैनथ्यो । बिस्तारै उसले सँधै आईरहने हुलाकी र बिजुलीको मिटर जाँच्नेलाई पनि चिन्न थाल्यो । चिनेकाहरुलाई हामीले भन्दा पहिला लुट्पुटाएर, पुच्छर हल्लाएर र चाटेर स्वागत गर्थ्यो । साँच्चिकै सबैको प्यारो बनेको थियो लाटा । म बजार जाँदा परसम्म पुर्‍याउँन जान्थ्यो । ‘फर्की लाटा’ भन्यो भने खुरुक्क घरमा फर्कन्थ्यो । म बजारबाट फर्किदाँ खै कसरी थाहा पाउँथ्यो कुन्नि ? तलसम्म लिन आउँथ्यो । कुकुरको सरदर आयु १५ बर्षको हुन्छ भनिन्छ, ३, ४ बर्षमा उ लक्का जवान भईसकेको थियो । रातभरि घर वरिपरी घुमेर चौकीदारी गर्थ्यो । ऊ आफ्नो ड्यूटी सँधै इमानदार साथ निभाईरहेको हुन्थ्यो । एकदिनको कुरो हो, एकाबिहानै सँधैको भन्दा अलि अस्वभाविक भुकाई गरेको थियो । बिहानभरि सबैतिर खोजियो कतै भेटिएन र फर्केर पनि आएन । पछि थाहा भयो कि, उसलाई बाघले खाएछ । त्यसरी माया गरी हुर्काएको उसलाई गुमाउनुपर्दा म बेस्सरी रोएकी थिएँ । सम्झिंदा अहिले पनि रुन मन लाग्छ । उनै हेडसरबाट उपहारमा पाएको कुकुर र हेडसरलाई आज फेरि एकमुष्ट श्रद्धासुमन भन्न चाहान्छु ।

हेडसरलाई अरुले कसरी चिन्थे कुन्नि ? थाहा भएन । मैले हेडसरको मुखबाट अरुको बारेमा नकरात्मक टिकाटिप्पणी र गुनासो कहिलै सुनिन । राजनैतिक, साम्प्रदायिक, धार्मिक, नाताबाद जस्ता भेदभावजन्य ब्यवहार भएको कहिलै अनुभव गर्नु परेन। एउटा शिक्षकमा हुनुपर्ने पूरापूर गुण र अनुसाशन भरिपूर्ण थियो उहाँमा । त्यति मात्रै हैन उहाँ साहित्य, गानाबजाना र नृत्यमा पनि उत्तिकै माहिर एवं विलक्षण प्रतिभाका धनी हुनुहुन्थ्यो । शिक्षा र संस्कृतिका धरोहरको रुपमा स्थापित हेडसर अमर र अजर रहि रहनुहुनेछ ।
एउटा घटनाको याद ताजै छ, ६ कक्षामा पढ्ने बेलामा हामी मिल्ने साथीहरु मध्यका हेडसरकी छोरी बिजया, झरिमा र म ३ जना भएर स्कुल नजिकैको रितुङ् खोलामा पौडी खेल्न गयौं । पौडी खेल्दाखेल्दै ठूलो मुसलधारे पानी पर्‍यो, खोला बढ्दै आयो । सर र म्याडमले छोरी बिजयालाई धेरै खोज्नुभएछ । फर्कदा मुसलधारे पानीले भिजेर मुसाको चल्ला जस्तै भएका थियौं, बिजयासंगै झरिमा र मैले पनि हेडसरको भक्कु गाली खाईयो । खोला कतिखेर बढ्छ थाहा नहुने याममा त्यसरी पौडी खेल्न जाने हो ? म भएर पो गाली मात्रै खायौ, म्याडमले भेट्ने हो भने सिस्नो पानी लाउँछे भन्दै बेसरी कराउनुभयो । त्यसपछि हामी त्यता कहिलै पौडी खेल्न गएनौ ।
अर्को घटना २०४७ साल तिरको कुरो हो, असार र श्रावण महिनामा स्कुल बिदा हुने भएकोले हेडसरसंग अंग्रेजीको ट्युसन पढ्न गईन्थ्यो । बर्षा याम न हो निकै झरी परिरहेको थियो । बिहान त जनतन स्कुल पुगियो । पानीको दर्कन र टिनको छानाको थर्कनले पढाएको केहि बुझेको भए मरिजानू । झन भन्दा झन खोलानालाहरु उत्ताउँलिदै थिए । टाढाबाट ट्युशन पढ्न गएका मध्य साथी मानकुमारी र म मात्रै थियौं । पढाई सकिएपछि घर कसरी फर्किने भन्ने चिन्ताले सताईरहेको थियो । हेडसर र म्याडमले नजाउ आज यतै बस, भोलि जाउला सबैतिर खतरा छ भनेर निकै जोड गर्नुभएको थियो । तर हामी दुबैलाई बस्न मन लागेन । मुसलधारे पानी परिरहेको थियो, कापी कलम काखीमा च्यापेर हिडियो । केहि वर्ष अगाडि अर्थात २०४४ सालमा भिषण पहिरो गएको ठाउँको बाटो छिचोल्नु थियो । त्यतिखेर मानकुमारी र मलाई भगवानले बचाएकै हुन । उक्त पहिरोबाट बग्दै आएको पानीसंगैको ढुंगामुढा मिश्रित रेलोले धन्नै बढारेन । रौं-रौंले बचेर अलि पर पुगेर नसुस्ताएको भए फेरि अर्को पहिरोले च्याप्ने रहेछ । दुई-तीन पाईलो अगाडि ठूलो ढिस्को खसेर सातोपुत्लो लग्यो । दुईजना जोल्ठिएर हिड्दै थियौं धन्नै एकैचिहान भईएन । तीनदिन पछि ट्युशन पढ्न गएको, म्याडमले त ए ! तिमीहरु ज्यूँदै पो छौ ? भनेर सोध्नुभयो । त्यो दिन म्याडम र हेडसरले निकै पीर गर्नुभएको रहेछ । नजाउ यतै बस भन्दाभन्दै गयौ, पार्नु पीर पार्‍यौ नि ! भन्दै गाली गर्नुभयो । हुन पनि त्यो दिनमा हामीलाई भगवानले रक्षा गरेकै हुन् । त्यहि दिन देखि साँच्चिकै भगवान रहेछन् भन्ने बिश्वास लाग्न थालेको हो । त्यसपछि त ट्युशन पढ्नै छोडियो ।

हेडसरलाई अरुलाई जस्तो ठाउँ-ठाउँमा सरुवा भईरहन पनि परेन । पढाउने शैली पनि अत्यन्तै राम्रो । जीवनमा धेरै सरहरुबाट पढियो तर सबै सरहरुको अब नाम सम्झिन समेत हम्मे-हम्मे पर्छ । कुनै त बिर्सि पनि सकियो । कुनै सरहरु त सम्झनलायक पनि छैनन् । यस अर्थमा पनि धेरैको मनमुटुमा बस्न सफल, सबैको प्रिय मान्छे हुनुहुन्थ्यो हेडसर ! राष्ट्र, समाज र जनताका लागि उहांले अझ धेरै गर्नुथियो, तर धेरैको आशाको दियो र भरपर्दा ब्यक्ति गुमाउनुको पींडा त छँदैछ । गाएरै नसकिने हेडसरको गुनगानले मुटु साह्रै भक्कानिएर आउँछ ।

परिस्थिति अलि सहज भयो भने उहाँलाई एकपटक जापान घुमाउने सपना थियो, जापान घुमाउन पाईयो भने उहाँको गुण तिर्छुजस्तो लागेको थियो । मेरो सपना सपनामै सीमित रहयो, मनको धोको मनमै रहृयो । अहिलेको यो प्राणघातक कोभिड महामारीले गर्नुसम्म गर्‍यो । अरु भन्दा पनि यतिखेर बालकुमारी म्याडमको साह्रै पीर लागेको छ । छोडेर जाने त गईहाले, बाँच्नेलाई कति गाह्रो भयो होला ? शिरको स्वामी र मुटुको टुक्रा छोरो तीनदिनको फरकमा गुमाउनुपर्दाको हालत कस्तो भयो होला ? हृदयविदारक दुखद घटनाले जो कसैको मनलाई छियाछिया त बनाउँछ नै । तै पनि नाती-नतिनाका लागि भए पनि हिम्मत हार्नुहुन्न म्याडम ! यस दुखदायी घडिमा परिवारका समस्तजनमा धैर्यधारण गर्ने अदम्य शक्ति र साहस मिलोस भनि गहिरो समबेदना प्रकट गर्दै भाइ विकल र गुरु बीरबहादुर कार्कीज्यूको दिवंगत आत्माप्रति हार्दिक श्रद्वासुमन ब्यक्त गर्न चाहान्छु ।***

तपाईको प्रतिक्रिया