शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सीमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ ।

मुस्ताङको जोमसोमबाट सामान पुर्‍याएर म्याग्दीतर्फ फर्किदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक दिउँसो करिव १ बजे समयमा सडक माथिबाट खसेको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । जिप्रका मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार जोमसोमबाट मालसामान पुर्‍याएर म्याग्दीतर्फ फर्किदै गरेको मालवाहक ट्रक दिउँसो साढे १२ बजेपछि हिलाम्मे सडकमा फसेको थियो ।

हिलोमा फसेको ट्रक निकाल्न चालक र सहचालक उपकरणको खोजी गर्न जाँदा त्यसको एक घण्टापछि अचानक सडक माथिबाट खसेको पहिरोले ट्रकको पूरै भाग पुरिएर क्षत विक्षत भएको छ । प्रहरीका अनुसार ट्रक अझै पहिरोले पुरिएकै अवस्थामा छ ।

यस्तै, अविरल वर्षाका कारण आएको पहिरोले केहीदिन अघि अन्नपूर्ण गाउँपालिका-३ म्याग्दीको रुप्सेमा झरनामा २ दिनसम्म एक स्कार्पियो जीप फसेको थियो । तर २ दिनसम्म पहिरोले खसेको उक्त सवारी तेस्रो दिनमा पहिराले कालिगण्डकीमा बगाएको थियो ।

मुस्ताङमा गत आइतबारदेखि परेको अविरल वर्षाले काभ्रेभीर सडकमा १५ मिटर सडक भासिएको थियो । मौसममा केही सुधार आएकाले अहिले सडक सफा गर्ने कार्य भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया