शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – जापानका लागि नेपाली राजदूत प्रतिभा राणा आफ्नो ४ वर्षको कार्यकालको उत्तरार्द्धमा हुनुहुन्छ । उहाँ सन् २०१७ को मे महिनामा कार्यभार सम्हाल्न जापान आउनुभएको हो । यस बीचमा नेपाल र जापान बीच केही उच्चस्तरिय भ्रमणको सफल आदान प्रदान हुनुका साथै केही महत्वपूर्ण समझदारीहरु पनि सम्पन्न भएका छन् । उहाँको कार्यकालमा जापानको नयाँ सम्राटको राज्यारोहण र सो अवसरमा नेपालको राष्ट्रपतिको जापान भ्रमण, नेपाल जापान बीच सिधा हवाइ उडानको सुरुवात, नेपालमा लगानी भित्र्याउने अभियान लगायतका ऐतिहासिक महत्व राख्ने कार्यहरु सम्पन्न भएका छन् भने अर्कोतिर कोभिड-१९ को महामारीले गर्दा लक्षित थुप्रै कार्ययोजनाहरु पूरा हुन पाएका छैनन् । यसै सन्दर्भमा विगतको संक्षिप्त समीक्षा र विशेषतः कोभिड-१९ को महामारी नियन्त्रण र रोकथामका लागि दूतावासले खेलेको भूमिकाका बिषयमा राजदूत राणासंग समुद्रपारि डट कमका लागि गरिएको कुराकानीको सम्पादित अंशः

महामारीका कारण दूतावासको नियमित कार्यसम्पादनमा के कस्तो असर परिरहेको छ र कसरी सेवाप्रवाह भईरहेको छ ?
महामारीबाट संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै भौतिक दूरी कायम गर्नेदेखि लिएर आवश्यक सबै मापदण्ड पूरा गर्दै दैनिक कार्यसम्पादनलाई सुचारु गरिएको छ । जसले गर्दा स्वभाविकरुपमा सामान्य अवस्थामा जस्तो सहज त पक्कै छैन । तथापि हामी नियमित कार्यालय खोलेका छौं । दैनिक सरदर ३ सयदेखि ४ सयको संख्यामा एमआरपी, अधिकृत वारेसनामा लगायतका कागजात जारी गर्ने दैनिक कार्यहरु नियमित भईरहेका छन् । कुनै पनि कामहरु रोकिएका छैनन् । दूतावासबाट प्रवाह हुने सबैखाले सेवाहरु चुस्त-दुरुस्तसंग सम्पादन भईरहेका छन् । सेवाग्राहीलाई कुनै असुबिधा नहोस् भन्नेमा हामी सचेत छौं ।

कोभिड-१९ महामारी नियन्त्रण र रोकथामका लागि जनचेतना फैलाउने सन्दर्भमा नेपाली दूतावासको भूमिका कस्तो रह्यो ?
हामीले अनलाइन, हटलाइन मार्फत जानकारीमुलक सूचना निरन्तर प्रबाह गरेर जनचेतना फैलाउने, सजग तथा सचेत बनाउने जस्ता कामलाई जोड दियौं । यस कार्यमा नेपाल सरकार, जापान सरकारका सरोकारवला निकायहरु, जापानको नेपाली समुदाय र यहाँका संघसंस्थाहरुसंग समन्वय गर्दै समस्यामा परेका नेपालीहरुलाई सक्दो मदत गर्‍यौं । अति आवश्यक काम परेर गन्तब्यमा पुग्न नपाएका नेपाली तथा जापानीहरुका लागि चार्टर प्लेनको ब्यवस्था गरी सहजीकरण गर्ने काम गर्‍यौं । संक्रमणको उच्च जोखिबाट बच्न जापानको नेपाली कम्युनिटीलाई नियमित र निरन्तर सजग र सचेत बनाउने काममा हाम्रो ध्यान केन्द्रीत रह्यो । हामीले अपनाएको नीति, निरन्तर सावधानी र उच्च सतर्क रहन गरिएको अपिलका कारण नेपाली कम्युनिटीमा त्यति साह्रै संक्रमण फैलन पाएन र कुनै अप्रिय घटना पनि हुन पाएन ।

नेपाली राजदूतास टोकियो जापानले जापानबासी नेपालीहरुलाई गराउनुपर्ने पछिल्ला र नयाँ अपडेट केही छन कि ?
कोभिड-१९ का कारण उत्पन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न जापान सरकारले राहतका प्याकेज, आर्थिक सहायता, सहुलियत कर्जा लगायतका सुबिधाहरु उपलब्ध गराउँदै आएको छ । यस्ता सुबिधाहरुलाई सहिरुपमा सदुपयोग गरी ब्यवसायिक प्रबर्द्धन गर्ने यो अवसर पनि हो । त्यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ । अझै पनि संक्रमणको जोखिम यथावतै छ, भ्याक्सिनको यकिन भईसकेको छैन । त्यसैले आफु पनि जोगिदैं र आफ्ना वरिपरिका सबैलाई जोगिनका लागि सजग एवं सचेत गराउने कार्यमा सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ । चाडपर्व भनेपछि नेपालीहरु भिडभाड र भोजभतेरमा रम्न मन पराउने स्वभावको हुने भएकोले समयको संबेदनशीलतालाई ध्यानमा राख्दै संयमता अपनाउन सबैमा अपिल गर्न चाहान्छु । सरोकारवला जापानी अधिकारीहरुले पनि यहि बिषयमा हाम्रो नियमित ध्यानाकर्षण गराउँदै आईरहेका छन् ।

जापानका लागि नेपाली राजदूत रहँदै गर्दा यहाँको कार्यकाललाई कसरी स्मरण गर्नुहुन्छ ?
मैले आफुलाई एउटा भाग्यमानी राजदूतको रुपमा पाएको छु किनभने संयोगले म यहाँको ऐतिहासिक समयमा नेपालको राजदूतको जिम्मेवारीमा रहें । जापानका पूर्वसम्राट समक्ष आफ्नो ओहदाको प्रमाणपत्र चढाउने अवसर पाएँ । सो अवसरमा सम्राटबाट नेपाल र नेपालीप्रति गहिरो अभिरुची र स्नेह ब्यक्त गरेको क्षण अविस्मरणीय छ । यसैगरी नेपालकी राष्ट्रपति सहित बिश्वका कैंयौं मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु सम्मिलित वर्तमान सम्राटको शुभराज्याभिषेक समारोहमा पनि सहभागी हुने अवसर पाएँ । यस्तो अवसर विरलै राजदूतहरुलाई प्राप्त हुन्छ । नेपाल भ्रमणको अनुभव समेत बटुल्नुभएका वर्तमान सम्राटको पनि नेपालप्रति असाध्यै माया रहेको पाएँ जुन ज्यादै खुशीको कुरो हो । जापान-नेपाल पार्लियामेन्ट लिगका अध्यक्षसमेत रहेका एलडीपीका प्रभावशाली नेता निकाई तोशीहिरो लगायतका अन्य जापानी नेताहरुसंग भएको विभिन्न सन्दर्भका भेटघाटहरु अविस्मरणीय छन्, उहाँहरुमा पनि नेपालप्रति गहिरो सद्भाव रहेको पाएकी छु । यो अर्को खुशीको कुरो हो । यसबाहेक नेपाल र जापानबीच सीधा हवाईसम्पर्क कायम भएबाट दुईदेशबीचको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपिएको छ भने यसबाट नेपालको आर्थिक, सामाजिक र पर्यटन बिकासमा ठोस योगदान पुग्ने बिश्वास गर्न सकिन्छ । अर्कोतिर नेपाल-जापान सीधा आवागमनमा सुबिधा भएको छ । यी लगायतका ऐतिहासिक महत्वका थुप्रै कार्यहरु सम्पन्न भएका छन् जसले गर्दा दुईदेशबीच रहीआएको सम्बन्धलाई थप उच्च बनाएका छन् । यसअर्थमा पनि मेरो कार्यकाल सफल भएको ठानेकी छु ।

यहाँको दृष्टिकोणमा जापानको नेपाली कम्युनिटी कस्तो पाउनुभयो ?
सुरुका दिनहरुमा बुझ्न केही समय लागेता पनि त्यसपछि भने जापानको नेपाली कम्युनिटीको दूतावासलाई राम्रो सहयोग, सहकार्य र सद्भाव रहेको पाएकी छु । हामीले थुप्रै कार्यक्रमहरु एनआरएन लगायतका यहाँको नेपाली कम्युनिटीसंगको सहकार्यमा गरेका छौं । उहाँहरुले हामीलाई मनैदेखि परिवारकै अभिभावककारुपमा लिएको पाएकी छु, खुशी लाग्छ ।

पुरानो बर्षको बिदाई र नयाँ बर्षलाई स्वागत गर्ने यो क्षणमा बितेको एक बर्षलाई कसरी समीक्षा गर्नुहुन्छ ?
साँच्चिकै भन्नुपर्दा गएको बर्ष शून्य बर्ष साबित भयो । शून्य बर्ष यस अर्थमा कि हामीले मनाउँदै आएका परम्परागत चाडपर्व तिज, दशैं, तिहार, नयाँ बर्ष एक्लाएक्लै वा परिवारमा मात्र सीमित रहेर मनाउनुपर्‍यो, कसैसंग भेटघाट गर्न पाएनौ । संक्रमणको त्रासदीमा सिंगो एक बर्ष बित्यो, यस बीचमा कूनै सार्बजनिक कार्यक्रमहरु भएनन् । अन्य थुप्रै महत्वपूर्ण कामहरु सम्पन्न हुन सकेनन् । तथापि कोभिड-१९ को बन्दाबन्दी अवस्थाले भर्च्युअल माध्यमबाट हुने गरेका मिटिङ तथा कार्यक्रमहरुका कारण धेरै मानिसहरुसंग चिनायो । भौतिकरुपमा भेटघाट गरेर कार्यक्रम गर्न नसकेपनि अनलाइन मार्फत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसंग अन्तरक्रिया गर्ने अवसर मिल्यो । यसलाई मैले अत्यन्त सकारात्मकरुपमा लिएकी छु ।

नेपाली नयाँ बर्ष २०७८ को पावन अवसरमा जापानबासी नेपालीहरुलाई के सन्देश दिन चाहानुहुन्छ ?
महामारीका कारण गएको बर्षमा हामीले ज्यादै कष्टकर समय भोग्यौं, आउने बर्ष २०७८ मा त्यस्तो कष्ट भोग्न नपरोस् । समस्त जापानबासी नेपालीहरुलाई अझ धेरै उन्नति, प्रगति र सफलता मिलोस् । जापान जस्तो श्रमको सम्मान गर्ने र समयको महत्व रहेको देशमा हुनुहुन्छ, आफ्नो बुद्धि, ज्ञान र विवेक प्रयोग गर्दै इमान्दारिपूर्वकको परिश्रमबाट जीवनलाई सार्थक बनाउन सफलता मिलोस् । जापानीहरु नेपालीलाई असाध्यै मन पराउँछन् । उनीहरुमाझ विद्यमान नेपालीको छबि र बिश्वसनियता जुन छ, त्यसलाई कायमै राख्न सक्नुपर्दछ । परिआएमा भोलि नेपाललाई जुरुक्क उठाउन सक्छन् भन्ने सगरमाथा जस्तै अटल बिश्वास उनीहरुमा दिलाउन सक्नुपर्दछ । नयाँ बर्षको उपलक्ष्यमा समस्त जापानबासी नेपालीहरुमा सुखद भविष्यका लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु । अन्तमा, जाँदाजाँदै मेरा भनाईहरु जापानबासी आम नेपालीमाझ राख्ने अवसरका लागि जापानको पहिलो र एकमात्र नेपाली पत्रिका ’नेपाली समाचार’ र समुद्रपारि डट कमलाई अन्तर्मनदेखि नै हार्दिक धन्यबाद ज्ञापन गर्न चाहान्छु ।
– प्रस्तुती तिलक मल्ल

तपाईको प्रतिक्रिया