काठमाडौं – रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन् । खोपको परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन् ।
मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख छ । खोपको बारेमा वैज्ञानिक नतिजा प्रकाशित हुनुअघि नै अगस्ट महिनामा स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न अनुमति दिएको रुस त्यसो गर्ने पहिलो देश हो ।
विज्ञहरूले खोपको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्नको उक्त परीक्षण निकै न्यून भएको बताएका छन् । तर मस्कोले आलोचकहरूलाई जवाफ दिँदै परिणामको प्रशंसा गरेको छ । केही पश्चिमा विज्ञहरूले रुसले गरेको कामको तीव्र गतिलाई लिएर चिन्ता प्रकट गरेका छन् र अनुसन्धानकर्ताहरूले छिटो हुन सजिलो बाटो रोजेको हुनसक्ने उनीहरूको भनाइ छ ।
साइड इफेक्ट के छ ?
गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक सबै परीक्षणका मापदण्ड खोपले पूरा गरेको र आफ्नी छोरीमा पनि परीक्षण गरिएको बताएका थिए ।
स्पुत्निक पाँच नाम दिइएको उक्त खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनाको बीचमा गरिएको जर्नलमा उल्लेख छ । प्रत्येक परीक्षणमा सहभागी ३८ जना स्वस्थ स्वयम्सेवकलाई पहिलो खोपको लगाइएको थियो र तीन सातापछि उनीहरूलाई बुस्टर डोज दिइएको थियो ।
सहभागीको उमेर १८ देखि ६० वर्षसम्म थियो । उनीहरूलाई ४२ दिनसम्म निगरानी गरिएको थियो र सबैमा तीन साताभित्र एन्टीबडीको विकास भएको थियो । उनीहरूमा सामान्यतया टाउको र जोर्नी दुख्ने साझा खालको साइड इफेक्ट देखिएको छ ।
लामो प्रक्रिया बाँकी
प्रतिवेदनमा भनिएको छ, “कोभिड-१९ को सङ्क्रमण रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक लाभको तुलना सहितको ठूलो दीर्घकालीन परीक्षण र थप निगरानी आवश्यक छ ।”
जर्नलका अनुसार तेस्रो चरणको परीक्षणमा ‘फरक-फरक उमेर र जोखिम समूह’ बाट ४०,००० स्वयम्सेवक सहभागी हुनेछन् । तर विज्ञहरूले खोप बजारमा उपलब्ध गराउनका निम्ति अझैँ पनि लामो प्रक्रिया पूरा गर्न बाँकी रहेको चेतावनी दिएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वव्यापी रूपमा अहिले १७६ वटा सम्भावित खोपको विकास गरिँदैछ । ती मध्ये ३४ वटा मानिसहरूमा परीक्षणका क्रममा छन् । जसमध्ये आठवटा तेस्रो चरणको परीक्षणमा छन् ।-बीबीसी