टोकियो – रसिला गोलभेडाको जुस शरीरका लागि ज्यादै लाभदायक हुन्छ । जापानस्थित टोकियो मेडिकल एन्ड डेन्टल युनिभर्सिटीमा भएको अनुसन्धानमा करिब ५०० मानिसलाई सहभागी गराइएको थियो, जसमा १८४ जना पुरुष र २९७ जना महिला थिए । अनुसन्धानका क्रममा दैनिक गोलभेँडाको जुस पिएका कारणले उच्च रक्तचापले पीडित ९४ जनाको रक्तचापमा कमी आएको थियो । यिनीहरूको सिस्टोलिक ब्लडप्रेसर १४१.२ बाट १३७ एमएमएचजी र डाइस्टोलिक ब्लडप्रेसर ८३.३ बाट ८०.९ मा झरेको थियो । यसका अलावा १२५ जनामा बढेको ब्याड कोलेस्टेरोल (एलडिएल)को स्तर १५५ बाट घटेर १४९.९ एमजी/डिएलमा झरेको थियो ।
उल्लेखित आवस्थाका अलावा अन्य कतिपय रोगमा पनि गोलभेँडाको जुस लाभकारी पाइएको छ । गोलभेँडामा भरपूर मात्रामा फाइबर हुन्छ । यसका अतिरिक्त गोलभेँडामा एउटा खास तत्व हुन्छ, जसलाई ‘नियासिन’ भनिन्छ । नियासिनयुक्त आहार मुटुका लागि ज्यादै स्वस्थकर मानिन्छ, किनकि, यसले कोलेस्टेरोल घटाउँछ । यसका अलावा गोलभेँडामा पर्याप्त एन्टिअक्सिडेन्ट हुन्छ, जसमा बिटाक्यारोटिन, लाइकोपिन र साइटोन्युट्रियन्ट प्रमुख हुन् । यी एन्टिअक्सिडेन्टले क्यान्सर तथा हृदयाघातबाट बचाउन मद्दत गर्छन् ।
अनुसन्धानले गोलभेँडाको जुस पिउनाले हृदयाघातको जोखिम कम हुने बताएको छ । यो अनुसन्धान ‘जर्नल अफ फुड साइन्स एन्ड न्युट्रिसन’मा छापिएको छ ।
यदि तपाईं जुन पिउनुहुन्न भने पनि दैनिक भोजनमा गोलभेँडालाई अवश्य सामेल गर्नुहोस् । सलादमा काँचो गोलभेँडा खानुहोस् । यसका अलावा तरकारीलाई ग्रेबी बनाउन गोलभेँडाको प्रयोग गर्नुहोस् । तर, ध्यान दिनुपर्ने कुरा के छ भने टोम्याटो सस र टोम्याटो केचअपमा धेरै मात्रामा चिनी तथा केमिकल मिलाइएका हुन्छन्, त्यसैले यिनको सेवन तपाईंको स्वास्थ्यका लागि लाभकारी छैन ।