काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण पूर्णरुपमा नसकिँदै प्रयोगका लागि हतारमा स्वीकृति नदिन चेतावनी दिएको छ । स्वीकृति प्रक्रियालाई गम्भीरतापूर्वक लिन पनि डब्लुएचओले आग्रह गरेको हो ।
संयुक्त राष्ट्रसंघको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले यसरी हतारमा स्वीकृति दिँदा गम्भीर खतरा निम्तिन सक्ने बताइन् । उनले पत्रकारहरुसँग भनिन्, ‘सबै देश परीक्षण पूरा नगरी पनि औषधिको स्वीकृति दिने अधिकार राख्छन् । तर, स्वीकृति दिने प्रक्रियालाई हल्का ढंगमा लिनु हुँदैन ।’
यसअघि रुसले कारोनाभाइरस विरुद्धको खोप बनाएको बताएको थियो । तर, उसलाई डब्लुएचओको परीक्षण मापदण्ड पूरा नगरेको आरोप छ । त्यस्तै चीनले पनि तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ मा रहेको खोप उच्च जोखिममा काम गरिरहेकाहरुलाई लगाउन शुरु गरेको जनाएको छ ।