शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

काठमाडौं – जननायक बीपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणी नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

स्मृति ट्रस्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै बीपी सेनानी सम्मान पुरस्कार यस वर्ष प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पुर्‍याउने होमनाथ दाहाललाई दिने निर्णय गरिएको ट्रस्टले जनाएको छ ।

साहित्य सम्मान पुरस्कारको धनराशी एक लाख एक हजार र सेनानी सम्मान पुरस्कारको धनराशि ५१ हजार रहेको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजकत्वमा सदस्यहरु डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचनको सिफारिस समितिले उहाँहरुलाई पुरष्कृत गर्ने सर्वसम्मत निर्णय गरेको कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए ।

उहाँका अनुसार ट्रस्तले पुरस्कारहरु आगामी भदौ २४ गते बीपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गर्ने भएको छ ।

यसअघि २०७१ सालमा विपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व. रत्नशम्शेर थापाले प्राप्त गरेका थिए भने विपी सेनानी सम्मान नृतन थपलियाले पाएका थिए । २०७२ सालमा साहित्यकार विपी साहित्य सम्मान गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व. तारानाथ कोइरालालाई प्रदान गरिएकाे थियाे ।

२०७३ मा साहित्य सम्मान पुरस्कार साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई, २०७४ मा साहित्यतर्फ प्रा डा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थ राज चैतुलाई, २०७५ मा साहित्यतर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व. चक्र प्रसाद बास्तोलालाई प्रदान गरिएको थियो । गतवर्ष विपी साहित्य सम्मान तिल बिक्रम नेवाङ (बैरागी काइला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया