आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालनको व्यववस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समिति बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा सरकारलाई यस्तो निर्देशन दिएको हो ।

‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड-१९ काइसिस म्यानेजमेन्ट कमिटी (सीएमसी) ले तयार पारेका मापदण्ड पूरा गरी सरकारले लकडाउनको अवधिमा पनि केही पेशा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ’, समितिको निर्णयमा भनिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन गरेपछि धेरै व्यवसाय प्रभावित भएका छन् । खासगरी मजदुर संगठन र व्यवसायी संगठनका पदाधिकारीले लकडाउनका कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्याको तहसम्म पुग्नुपर्ने दर्दनाक परिस्थिति सृजना भएको, व्यवसायीले बैंकको ऋण तिर्न नसकेको लगायतका गुनासाहरु समितिमा गरेका थिए ।

त्यस्तै सार्वजनिक यातायातलाई व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने सम्बन्धमा कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) र भौतिक मन्त्रालयसँग आगामी बैठकमा समितिले छलफल गर्ने जनाएको छ । अर्को बैठक २५ गतेका लागि तोकिएको छ ।

त्यसमध्ये सार्वजनिक यातायात क्षेत्र सर्वाधिक प्रभावित भएको भन्दै समितिले यस्तो निर्देशन दिएको हो । असार १ गतेपछि निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन, पसल र व्यवसाय सञ्चालनको अनुमति दिएको सरकारले सार्वजनिक सवारी साधनलाई भने चल्ने दिएको छैन । केहि समयअघि काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायीहरुले लामो समयदेखि आफू पेसाविहीन भएर बस्नु पर्दा समस्या भएको भन्दै प्रदर्शन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया